भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी

१७ जेठ, काठमाडौं । भारतको नवनिर्मित संसद् भवनमा नेपाली भू–भाग समेत समेटर ‘अखण्ड भारत’को नक्सा अंकित गरिएपछि नेपालमा त्यसको विरोध शुरू भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको संसद् भवनको भित्तामा ‘अखण्ड भारत’ जनाउने मुरल नक्सा राखिएको छ । जहाँ नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मको क्षेत्रलाई समेत समेटिएको छ ।

भारतको सत्तारुढ दल भाजपाका नेताहरूले उक्त मुरल नक्साका तस्विरहरू सामाजिक सञ्जालबाट साझा गर्दै ‘अखण्ड भारत’ भन्दै लेखेका छन् । उक्त भित्तेचित्रमा अंकित भौगोलिक पहिचानमा नेपालको कपिलवस्तु र लुम्बिनी समावेश गरिएकोप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्राध्यापक कृष्ण पोखरेल, एमाले नेता ठाकुर गैरेलगायतले उक्त विषयप्रति चासो व्यक्त गरेका छन् । भट्टराईले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमिझैं उल्लेख गर्ने विषयले दुई देशका बीचमा आपसी कूटनीतिक सम्बन्धमा दरार आउन सक्ने बताउनुभयो । उहाँले लेख्नुभएको छ– ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ ।’

उक्त विषयमा संसद्को पूर्वाधार समितिको बैठकमा समेत छलफल चलेको छ । समितिका सदस्यहरूले ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखिएको विषयप्रति ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री बस्नेतले यस विषयमा जानकारी भएको भन्दै सरकारले नोटिस गरेको बताउनुभयो ।

उता, प्राध्यापाक कृष्ण पोखरेलले पनि यस विषयमा आपत्ति जनाउँदै उहाँले लेख्नुभएको छ– ‘अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राख्नु भनेको सरासर कार्टोग्राफिक एग्रेसन हो । यसको जति निन्दा गरे पनि थोरै हुन्छ ।’

नेकपा एमालेका सांसद ठाकुर गैह्रेले भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटेको विषयमा कुरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा यस विषयमा कुरा उठ्नुपर्ने बताउनुभयो ।

‘अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राख्नु भनेको सरासर कार्टोग्राफिक एग्रेसन हो । यसको जति निन्दा गरे पनि थोरै हुन्छ ।’
– कृष्ण पोखरेल
प्राध्यापक



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment