घोराही सिमेन्टलाई आईपीओ बिक्रीमा धक्का, पहिलो चरणमै बिकेन

१५ जेठ, काठमाडाैं । व्यवसायीक घरानाहरु त्रिवेणी ग्रुप तथा विशाल ग्रुपको मुख्य लगानी रहेको घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको आईपीओ प्राथमिक बजारमा अवितरित भएको छ । प्रिमियम मूल्यमा जारी गरिएको उक्त आईपीओ कम्पनीको वित्तीय अवस्थाको तुलनामा महङ्गो भएको भन्दै लगानीकर्ताले खरिद नगरेका हुन् ।

सिमेन्टसको धितोपत्र बिक्री प्रबन्धकले सबै सेयर बिक्री नभएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको सेयर आंशिक रुपमा बाँडफाँड गरेको छ । बिक्री प्रबन्धकहरु हिमालयन क्यापिटल र नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडका अनुसा घोराही सिमेन्टको जारी गरेको सेयरमध्ये १ लाख ४८ हजार ३११ कित्ता सेयर अवितरित भएको जनाएका छन् ।

घोराही सिमेन्टसले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरमा ३३५ रुपैयाँ थप गरी बैशाख १९ देखि जेठ २ गतेसम्म प्रतिकित्ता ४३५ दरले ७ लाख ५४ हजार ६६१ कित्ता निष्कासनमा ल्याएको थियो । तर पहिलो चरणमा जारी सेयरमध्ये वैदेशिक रोजगारीमा रहेकाहरुलाई जारी गरेको सेयर १ लाख ४८ हजार ३११ कित्ता सेयर बिक्री नभएको हो ।

अर्कोतर्फ स्थानीय बासिन्दाका लागि जारी भएको सेयर पनि सबै बिक्री नहुने सम्भावना छ । कम्पनीको सेयर खरिदका लागि स्थानीयबाट निकै कम मात्र आवेदन परेको छ । स्थानीयहरुले सिमेन्टको आईपीओ बहिस्कार गरेको अवस्था छ । स्थानीयको बहिस्कारको कारणले १५ दिनमा (जेठ २ सम्म) सेयर नबिकेपछि बिक्री प्रबन्धकले थप १५ दिन म्याद थपेर जेठ १७ गते बुधबारसम्मका लागि आवेदन खुला गरेको छ । कम्पनीले बैशाख १९ गतेदेखि स्थानीय बासिन्दाका लागि ३०० रुपैयाँ प्रिमियम थप गरी ४०० रुपैयाँ दरमा ३ लाख ९७ हजार १९० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

अर्कोतर्फ दीर्घकालीन प्रकृतिको ऋण नभएको र चालु आवको तेस्रो त्रैमासमा १० रुपैयाँ वार्षिक प्रतिसेयर आम्दानी भएको कम्पनीको सेयर मूल्य साढे चार सय रहेको छ । यस्तो आवस्थामा ६ महिनामा ५० पैसा वार्षिक प्रतिसेयर आम्दानी भएको घोराही सिमेन्टको आईपीओलाई ४३५ रुपैयाँ लगानी गर्नु उच्च जोखिम हुने सेयर बजार क्षेत्रका जानकार बताउँछन् ।

सामान्यतया एक सय रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि सेयर निष्कासन हुने गर्दछ । कम्पनीको आम्दानीलाई हेरेर प्रिमियम मूल्य थपेर समेत आईपीओ जारी गर्ने सुविधा दिइन्छ । यस्तै सुविधाको उपयोग गर्दै घोराही सिमेन्टले १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्कासन गर्न स्वीकृति पाएको थियो ।

सिमेन्टले आईपीओ बिक्रीका लागि जारी गरेको आह्वानपत्रमा उल्लेख गरिएको विवरणमा प्रक्षेपित विवरणको तुलनामा उद्योगले हासिल गरेको उपलब्धी ज्यादै न्यून देखिएपछि लगानीकर्ताहरु आईपीओ खरिद गर्न पछि हटेका हुन् । कम्पनीले प्रक्षेपितभन्दा एक तिहाई मात्र कारोबार गर्ने तथ्याङ्क उसैले प्रकाशन गरेको विवरणमा देखिएको छ । कम्पनीको कारोबार र आम्दानीमा अस्वभाविक गिरावट देखिएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको सेयर खरिदका लागि चासो नदिँदा कम्पनीले जारी गरेको २० प्रतिशत सेयर अवितरित भएको हो ।

पछिल्लो समय वैदेशिक रोजागरीमा रहेकाहरुबाट १५ हजारदेखि २० हजारको बीचमा आवेदन पर्ने गरेको थियो । तर घोराही सिमेन्टसको हकमा १२ हजार हारीहारीमा मात्र आवेदन पर्नु र थोरै कित्ताको माग राख्नुलेपनि कम्पनीको आईपीओमा आकर्षणभन्दा बढी विकर्षण रहेको बुझ्न सकिन्छ ।

पछिल्ला दुई वर्षदेखि देशभर निर्माण कार्य सुस्ताएका छन् । यसले सिमेन्टको ब्यापार अस्वभाविक रुपमा घटेको छ । उद्योगहरु आधाभन्दा कम क्षमतामा सञ्चालनमा रहेका छन् । सगरमाथा ब्राण्डमा सिमेन्ट उत्पादन गरिरहेको घोराही सिमेन्ट इन्डष्ट्रीज लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट उच्च मूल्यमा सार्वजनिक निष्कासन पाउनुमा पनि शंका उब्जिएको छ भने सेयर प्रत्याभुतिकर्ता (अन्डर राईटिङ) नागरिक लगानी कोषले सिमेन्ट कम्पनीसँग छलफल गरेर पुनः मुल्याङ्कन गर्ने बताइसकेको अवस्था छ । धितोपत्र बोर्डले एक वर्ष अघि नै गरेको मुल्याङ्नको आधारमा घट्दो सेयर बजार सूचक र कम्पनीको वित्तीय अवस्थामा ठूलो फेरबदल आएकाले पनि समस्या आएको कोष बताउँछ । कम्पनीको सेयर प्रत्याभुतिकर्ता (अन्डर राईटिङ) नागरिक लगानी कोषले २०७९ साउनमा प्रत्याभुति सम्झौता गरेको थियो । कोषले कम्पनीको सेयर प्रस्तावित मूल्यमा बिक्री नभएमा सकार्ने सम्झौता गरेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले कम्पनीको आईपीओलाई ‘केयर एनपी त्रिपल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कस्तो छ त सिमेन्टसको वित्तीय अवस्था ?

घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको गत आव २०७८।७९ को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार ४ अर्ब ८० करोड १५ लाख रुपैयाँको सिमेन्ट बिक्रीबाट आम्दानी गरी २१ करोड ६५ लाख ४२ हजार नाफा आर्जन गरेको देखिन्छ । नाफा अनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८१ पैसा कायम गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको ६ महिना अर्थात २०७९ पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १ अर्ब ८३ करोड २४ लाख रुपैयाँको मात्र कारोबार गरेको छ । जुन अघिल्लो आवको ६ महिनाको औसतभन्दा ५७ करोड रुपैयाँ अर्थात २४ प्रतिशतले कम हो । यस्तै कम्पनीले ६ महिनामा कम्पनीले बिक्री आयकको ७३ प्रतिशत अर्थात १ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बिक्री लागतमा खर्च भएको छ । यस्तै समीक्षा अवधिमा २४ करोड ब्याज भुक्तानी, साढे १३ करोड ह्रास तथा कट्टी खर्च र १० करोड प्रशासनिक खर्च पश्चात कम्पनीको ६ महिनाको खुद नाफा १ करोड ५८ लाख २३ हजार रुपैयाँमा खुम्चिएको छ । कारोबार र नाफामा संकुचन आएसँगै कम्पनीले वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा प्रक्षेपण गरेकोमा ५० पैसामा मात्र कायम भएको छ ।

यस्तै ६ महिनामा साढे १ करोड रुपैयाँ मात्र आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षमा ४६ करोड २८ लाख ६९ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । यसले पनि कम्पनीको प्रक्षेपित आंकडा वास्तविक लाग्दैन । कम्पनीले चालु आर्थिक वर्षमा ९ अर्ब ८९ करोड २८ लाख रुपैयाँको कारोबार गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रक्षेपण अनुसारको कारोबार हुन चालु आवको बाँकी ६ महिनामा अब ६ अर्ब २३ करोड कारोबार गर्नुपर्छ जुन असम्भव प्रायः छ । पहिलो ६ महिना जति कारोबार भए वार्षिक ३ अर्ब ६६ करोडको मात्र हुने देखिन्छ । उता १२ अर्बको ऋण भएको कम्पनीको चालु आर्थिक वर्षको वित्तीय लागत मात्रै १ अर्ब ८ करोड ५९ लाख तथा ह्रासकट्टी खर्च ६५ करोड ९१ लाख रहने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री लागत, प्रशासनिक खर्च लगायतका खर्च समेत गर्दा कम्पनीको खर्च उच्च रहेको छ । यस आधारमा कम्पनी चालु आवमा नै नोक्सानीमा जानेसक्ने देखिन्छ । प्रक्षेपितभन्दा एक तिहाइको कारोबार हुने अवस्थामा प्रक्षेपणअनुसार कारोबार नभए कम्पनी चालु आर्थिक वर्षमै नोक्सानीमा जाने अवस्था देखिएको हो ।

पुरुषोत्तम लाल संघई अध्यक्ष रहेको घोराही सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई सवा १ अर्ब रकम डेडिकेटेड प्रसारणलाइनको विद्युत महसुल वापत भुक्तानी गर्न बाँकी सहित १ अर्ब ५१ करोडको दायित्व बाँकी रहेको छ । विद्युत महसुल भुक्तानी गर्न भन्दै प्राधिकरणले सार्वजनिक रुपमा नै पटक–पटक ताकेता समेत गर्दै आएको छ । उक्त भुक्तानी गरेमा कम्पनीको आव २०७८।७९ मा कायम भएको प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ६१ पैसाभन्दा निकै झर्नेछ । कम्पनीको विगतको लाभांश वितरण हेर्दा पनि उत्साहजनक देखिँदेन । घोराहीले आव २०७५–७६ र आव २०७६–७७ मा १०–१० प्रतिशत बोनस र २०७७–७८ मा ५ प्रतिशत वितरण गरेको देखिन्छ । हुवासीन, होङ्सी, शिवम् सिमेन्ट जस्ता अत्याधुनिक प्रविधि र उपकरण भएका उद्योगमा समेत लगानी थपिँदै जाँदा पछिल्लो वर्ष कम्पनीको व्यवसाय घट्दै गएको छ । सो आधारमा उद्योगले केही वर्षसम्म लगानीकर्तालाई गतिलो प्रतिफल दिने अवस्था अहिले देखिँदैन । कम्पनीकै अनुसार नै साधारण लगानी फिर्ता हुन ४ वर्ष ८ महिना तथा डिस्काउन्टमा लगानी फिर्ता हुन ८ वर्ष ५ महिना लाग्ने जनाएको छ ।

तीन अर्ब १७ करोड ७५ लाख सेयर पुँजी कम्पनीको गत आवसम्म सञ्चित नाफा ३ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ छ । कम्पनीे विभिन्न १४ बैंक तथा वित्तीय संस्थाबाट १२ अर्ब ३१ करोड १४ लाख रुपैयाँ ऋण लिएको छ भने आईपीओ बिक्रीबाट प्राप्त हुने रकममा सम्बन्धीत खर्चहरु कटाएर ३४ लाख १७ हजार ऋण भुक्तानी गर्ने जनाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्दा प्रिमियम मूल्यबाट २ अर्ब ६४ करोड ७२ लाख रुपैयाँ प्रिमियम उठाउने बताएको छ ।

कम्पनीको १७ लाख ९७ हजार मेट्रिक टन क्लिंकर र १० लाख ४० हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भए पनि आव २०७९।८० मा क्लिंकरको ५४ प्रतिशत र सिमेन्टको ७२ प्रतिशत मात्रै क्षमता उपभोग हुने अनुमान छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा ६४ प्रतिशत र आर्थिक वर्ष २०८१–८२ मा ७० प्रतिशत क्लिंकर क्षमताको उपभोग गर्ने प्रक्षेपण गरेको छ । सिमेन्टमा आव २०८०–८१ मा ७९ प्रतिशत र २०८१–७२ मा ८७ प्रतिशत क्षमता उपभोग गर्ने कम्पनीको प्रक्षेपण छ । तर, कम्पनीले प्रक्षेपण अनुसारको अनुपातमा उत्पादन भएमा हालको अवस्थामा बजार अभाव देखिन्छ । सरकारले निर्माण कार्यलाई तीव्रता दिन नसके तथा सिमेन्टको खपत हुने आयोजनाहरुको निर्माण नभएको खण्डमा उत्पादनको बिक्री गर्न बजार अभाव रहने देखिन्छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment