नेपालको पहिलो फिनटेक कम्पनी फोनपेले आईपीओ ल्याउने

११ जेठ, काठमाडाैं । दैनिक सात अर्बभन्दा बढीको नगद रहित कारोबारलाई सहजीकरण गरिरहेको नेपालकै पहिलो फिनटेक कम्पनी फोनपे पेमेन्ट सर्भिस लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आईपीओ जारी गर्ने तयारीका लागि एनएमबि क्यापिटलसँग बुधबार सम्झौता गरेको छ । एनएमबि क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने विषयमा आवश्यक परामर्श दिनेछ । भुक्तानी प्रणाली सञ्चालक फोनपेले पूर्व तयारीको काम सकिएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिइ फोनपेले सर्वसाधारणका लागि आईपीओे बिक्रीमा ल्याउनेछ ।

सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्यकारी प्रमुख दिवस सापकोटाले एनएमबिसँगको सम्झौताले आईपीओ निष्काशन गर्न सहज हुने बताए । ‘हामीले साधारण सेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरि रहेका नेपालका अन्य कम्पनीहरुलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौं । यसलाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदर्शन गर्नका लागि एनएमबि क्यापिटलसँग सहकार्य गर्न लागेका हौं’, फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने ।

फोनपेले दैनिक सात अर्बभन्दा बढीको नगद रहित कारोबारलाई सहजीकरण गरिरहेको छ । फोनपे नेटवर्कमा ५८ वटा भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु सदस्य छन्। १ करोड ८० लाख भन्दा बढी सेवाग्राही र १२ लाख बढी मर्चेन्टहरु आवद्ध छन् । फोनपेले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको लाइसेन्स लिएर सन् २०१९ देखि सञ्चालनमा छ । कम्पनीले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोन मार्फत नगद रहित भुक्तानी सेवा दिँदै आएको छ ।

नेपालको पूँजी बजारमा सार्वजनिक सूचीकृत कम्पनी बन्न पाइला चालिरहेको फोनपेको लागि एनएमबिसँग सम्झौता एक महत्वपूर्ण कोसेढुङ्गा बनेको कम्पनीको भनाइ छ । यससँगै फोनपे सर्वसाधारणमा सेयर जारी गर्ने नेपालकै पहिलो फिनटेक कम्पनी बन्नेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment