भरतपुर-११ मा बाटो पिच नभएपछि स्थानीयबासी आन्दोलित,धुलाम्य सडक बन्द गरेर विरोध

०६ जेठ, भरतपुर ।भरतपुर महानगरपालिका–११ स्थित वडा कार्यालयदेखि बरपिपल चोक हुँदै दिपज्योती टोलसम्मको बाटो लामो समयदेखि अलपत्र परेपछि स्थानीयबासी आन्दोलित भएका छन् । धुलो उडेर सास्ती भएपछि स्थानीयबासीले बाटो नै बन्द गराएका छन् ।

स्थानीय कृष्णप्रसाद जैसीका अनुसार करिब एक किमी बाटो निर्माण थालेको दुई वर्ष भइसक्दा पनि पिच भएको छैन । ‘वडामा गयौँ, हाम्रो सुनुवाई भएन । महानगरको कार्यालय पनि पटक–पटक गयौँ, भएन’, उनी भन्छन्, ‘बाध्यता भएर बाटोमा ढुंगा र ह्युम पाइप राखेका हौँ ।’ धुलो उडेर विजोग भएपछि स्थानीयबासी आन्दोलित हुनुपरेको उनी बताउँछन् । उक्त बाटोको निर्माणकार्य प्रदेश सरकारको बजेटमा यसअघिका जनप्रतिनिधिकै कार्यकालमा सुरु भएको हो । ठेकेदारले समयका काम नगरेर हैरान पारेपछि स्थानीयहरु आन्दोलित हुन बाध्य भएका हुन् । स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलित भएका छन् ।

भरतपुर–११ का वडाध्यक्ष कमलबहादुर मल्लले ठेकेदारको लापरबाही र अटेरीले बाटो पिच हुन नसकेको बताए । उक्त बाटोमा छिटो पिच गरिदिन भन्दै आफु महानगरमा दशौँ पटक गएको भन्दै उनले ठेकेदारले महानगरका कर्मचारीलाई पनि नटेरेको बताए । बैशाख भित्रै काम सक्छु भनेर प्रतिबद्धता जनाएको ठेकेदारले अहिले आएर भरतपुर १५ मा भइरहेको काम सकेपछि मात्रै यता आउने बताएको उनी बताए ।
सडक निर्माणका सम्बन्धमा सडक निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधिलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment