अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि आकर्षक स्थललाई प्रवर्द्धन गरिने

०६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय चलचित्र छायांकन गर्नका लागि नेपालका आकर्षक स्थलहरुलाई प्रवर्द्धन गर्ने भएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा चर्चित एवं लोकप्रिय व्यक्तित्वलाई आमन्त्रण गरी पर्यटन प्रवद्र्धन गरिने जनाइएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको भूगोल, कला, साहित्व, संस्कृती, पर्यटनको प्रवर्द्धन गर्न विदेशी नागरिकलाई निजी क्षेत्रको सहकार्यमा सगरमाथा सम्मान कार्यक्रम शुरु गरिने भएको छ ।

यस्तै, सरकारले प्रतिलिपि अधिकार ऐन २०५९ लाई स्रष्टामैत्री हुनेगरी परिमार्जन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गर्नुभएको हो ।

यसैगरी समाज रुपान्तरणका लागि संघर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित चलचित्र, वृत्तचित्र तथा स्वदेशी चलचित्र निर्माणलाई प्रवद्र्धन गर्ने सरकारको नीति छ । काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियोको निर्माणलाई तीव्रता दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय चलचित्र छायाँकनका लागि नेपालका प्रमुख आकर्षक ठाउँहरूलाई प्रवद्र्धन गरिने छ । अन्तर्राष्ट्रिय स्तरमा चलचित्रका लोकप्रिय व्यक्तिहरूलाई आमन्त्रण गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गरिनेछ । अन्तर्राष्ट्रिय भूमिमा नेपालको कला साहित्य भाषा, संस्कृति, पर्यटनको प्रवर्द्धनमा उत्कृष्ट सहयोग पुर्‍याउने विदेशी नागरिकलाई निजी क्षेत्रसँगको सहकार्यमा सगरमाथा विशेष सम्मान प्रदान गरिनेछ ।’

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment