कृषि अनुदान प्रदेश र स्थानीय तहबाट लिन मन्त्रालयको आग्रह

२१ बैशाख, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि अनुदान स्थानीय तहबाट लिन कृषकलाई आग्रह गरेको छ। बुधबार कृषि मन्त्रालयको प्रवक्ता प्रकाशकुमार सञ्जेलले एक विज्ञप्ति निकाल्दै यस्तो आग्रह गरेका हुन्।

कृषि अनुदान प्रदेश र स्थानीय तहमा वितरण गरिने भए पनि कृषकहरु बारम्बार अनुदान लिन मन्त्रालयमा आउने गरेको प्रवक्ता सञ्जेलले बताए। ‘कति पटक आइरहनुहुन्छ। अनुदान कार्यक्रम प्रदेश र स्थानीय तह मातहतको भएकाले हामीले उहाँहरुलाई स्थानीय तह वा प्रदेशमा जानूस् भनेर पठाउने गरेका छौँ,’ उनले भने।

‘मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै कृषि सम्बद्ध निकायहरु पनि पुनर्संरचना भई संघ, प्रदेश र स्थानीय तह कायम भएको र नेपालको संविधान तथा अधिकार सूचीको विस्तृतीकरण प्रतिवेदनका आधारमा अधिकांश कृषि विकास र कृषि प्रसारसम्बन्धी कार्यक्रमहरु स्थानीय तह र प्रदेशमार्फत सञ्चालन हुँदै आएको छ। सोही सम्बन्धमा कृषि विकासअन्तर्गत कृषि सामग्री, कृषि पूर्वाधार विकास, कृषि फर्म स्थापना, क्षमता विकास, उत्पादन प्रवर्द्धनसम्बन्धी सेवा तथा अनुदान प्रदेश सरकारका कृषि सम्बद्ध निकायहरु तथा स्थानीय तहहरुमार्फत नै प्रदान हुँदै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट नीति, नियम, मापदण्ड तर्जुमा, राष्ट्रिय प्राथमिकताका विषयहरुमा प्रदेश र स्थानीय तहबाट सम्पादन गरिनुपर्ने कार्यक्रमका लागि सशर्त वित्तीय हस्तान्तरण र सोको कार्यान्वयन, सहजीकरण, अनुगमन तथा केन्द्रीय तथ्याङ्क व्यवस्थापन, विकास सहायता प्राप्त आयोजना सञ्चालन एव‌ं सहजीकरण लगायतका कार्यहरु मात्र सञ्चालन हुने उनले बताएका छन्।

‘कृषि प्रसार, कृषि विकास र कृषि पूर्वाधार स्थापना सम्बद्ध सबै प्रकृतिका अनुदानहरुका लागि सम्पूर्ण कृषकवर्ग निजी फर्म, कम्पनी, समूह सहकारीहरुलाई प्रदेशस्थित कृषि सम्बद्ध निकायहरु तथा स्थानीय तहहरुमा सम्पर्क गर्न हुन तथा त्यस्ता प्रकृतिका प्रत्यक्ष अनुदानका कार्यक्रमहरु यस मन्त्रालयबाट प्रवाह नहुने गरेको व्यहोरासमेत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment