जिल्ला प्रशासन सर्लाहीको कार्यालयमा आगलागी

२० वैशाख,सर्लाही । मलंगवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा अवरुद्ध भएको छ ।

मंगलबार बिहान विद्युत् सर्ट भइ कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । कार्यालयमा बिहान पौने ६ बजेतिर आगलागी भएको छ । आगलागीबाट नागरिकता प्रतिलिपि फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानरलगायतका सामग्री जलेको कार्यालयले जनाएको छ । दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले आगलागीबाट उपकरणमा क्षति पुगे पनि कार्यालयभित्र रहेका कागजात र सेवाग्राहीको ‘डाटा’ सुरक्षित नै रहेको बताए । आगलागीपछि कार्यालयको पूरै वाइरिङ समेत जलेकाले सेवा अवरुद्ध गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ । “महत्वपूर्ण फाँटको उपकरण र कार्यालयभरीकै वाइरिङ सर्ट भएपछि सेवा दिन सक्ने अवस्था रहने,” प्रजिअ यादवले बताए । “अब नयाँ वाइरिङको काम सकेपछि सेवा सुचारु गर्छौँ ।” उनका अनुसार वाइरिङको काम गर्न बुधबारसम्म लाग्नसक्छ ।

कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले नागरिकता प्रतिलिपि फाँटबाहेक अन्य फाँटका उपकरण सुरक्षित रहेको बताए । जिल्ला प्रशासन कार्यालयले २० मध्ये १६ वटा पालिकाका वासिन्दालाई सेवा दिँदै आएको छ । नियमित सेवा प्रवाह गर्दासमेत कार्यालयमा सेवाग्राहीको भीड नै हुन्छ । आगलागीपछि कार्यालयको सेवा ठप्प हुँदा कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचय–पत्रलगायतको सेवा लिने सेवाग्राही मारमा परेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment