उत्पादन, निर्माण र अटो व्यवसायमा गिरावट आउँदा अर्थतन्त्र सुस्त, पुँजी निर्माण पनि घट्यो

१९ वैशाख, काठमाडाैं । चालु आर्थिक वर्षको आर्थिक वृद्धि उपभोक्ता मूल्यमा १.८६ प्रतिशतमा सिमित रहने भएको छ । उत्पादन, निर्माण तथा अटो क्षेत्रमा आएको गिरावटका कारण आर्थिक वृद्धिले २ प्रतिशत पनि छुन नसक्ने राष्ट्रिय तथ्याङक कार्यालयले प्रक्षेपण गरेको हो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा उपभोक्ता मुल्यका आधारमा आर्थिक वृद्धि १.८६ र आधारभूत मूल्यका आधारमा २.२६ प्रतिशतमा सिमित रहने अनुमान छ । तर, अन्तराष्ट्रिय संघ संस्थाले ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गर्दै आएका छन।

कार्यालयले चालु आर्थिक वर्षको आर्थतन्त्रको अवस्था सार्वजनिक गर्दै कृषि क्षेत्रको वृद्धि २.७३ प्रतिशतले वढ्ने अनुमान गरेको छ। त्यसैगरी कार्यालयले गैर कृषि क्षेत्रको वृद्धि भने १.९२ प्रतिशतले मात्र बढ्ने अनुमान गरेको छ ।

चालु आर्थिक वर्षमा अर्थतन्त्रमा सुस्तता आउनुमा गाडीमा गरिएको आयात प्रतिबन्ध तथा मागमा आएको गिरावटका कारण उत्पादनमा कमी आएपछि त्यसको समग्र असर अर्थतन्त्रमा परेको हो । सरकारले पुँजीगत खर्च नगर्ने र बैंकहरुले पनि कर्जा नियन्त्रण गर्नुका साथै घरजग्गा र सेयर कारोबारमा गरिएको नीतिगत कडाइका कारण निर्माण क्षेत्रसमेत प्रभावित भएपछि अर्थतन्त्रको वृद्धि निराशाजनक हुन थप मद्दत पुगेको हो ।

चालु आर्थिक वर्षमा उत्पादन क्षेत्र २.०४ प्रतिशतले नकारात्मक रहेको छ भने निमार्ण क्षेत्रको ग्रोथ पनि २.६२ प्रतिशतले ऋणात्मक छ । त्यसका साथै गाडी आयात तथा खरिद बिक्रीमा समेत कमी आएपछि अटो क्षेत्र पनि २.९६ प्रतिशतले नकारात्मक रहेको छ । यी तीन क्षेत्रका आएको नकारात्मक ग्रोथले समग्र अर्थतन्त्रलाई नै सुस्त बनाएको स्पष्ट हुन्छ । तर, चालु आवमा सबैभन्दा धेरै खाद्यन्न क्षेत्रको १८.५६ प्रतिशतले बढेको छ । खाद्यन्न क्षेत्रमा आएको वृद्धिले अर्थतन्त्रलाई आवश्यक गति दिन नसकेको देखिन्छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा उपभोक्ता मूल्यमा कुल ग्राहस्थ उत्पादनको आकार ५३ खर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ बरावर पुगेको छ । गत आर्थिक वर्षको यस्तो अनुमान ४९ खर्ब ३३ अर्ब ६९ करोड रुपैयाँ थियो ।

कार्यालयका अनुसार चालु आवमा नेपालीहरुको प्रति व्यक्ति आयमा कुनै परिवर्तन आएको छैन । चालु आवमा नेपालीको प्रति व्यक्ति आय १३९९ अमेरिकी डलर कायम रहेको छ । गत आर्थिक वर्षमा पनि प्रति व्यक्ति आय १३९९ अमेरिकी डलर नै रहेको थियो ।

त्यसैगरी चालु आवमा राष्ट्रिय बचतमा पनि सुधार आएको छ । गत आर्थिक वर्षमा २९.०२ रहेको राष्ट्रिय बचत यो आवमा बढेर ३२.६६ प्रतिशत पुगेको कार्यालयले जनाएको छ । तर, चालु आवमा पुँजी निर्माणमा भने गिरावट आएको छ । गत आवमा २८.४५ प्रीतशतले पुँजी निर्माण भएको अर्थतन्त्रमा चालु आवमा घटेर २५.२१ प्रतिशतमा झरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment