राष्ट्रपति पौडेललाई गगन थापाको आग्रह : उपचार खर्च आफ्नै खल्तीबाट बेहोर्छु भन्नुहोस्

१८ वैशाख, काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले बेहोर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैंले आफ्नो उपचार खर्च बेहोर्नुपर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेल भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका हुन् । महामन्त्री थापाले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैं बेहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गरे । महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैं उपचार गर्नुपर्ने विभेद हुन नहुने बताए ।

‘हामीले संसद्बाट एउटा कानुन बनायौँ । गणतन्त्र भनेको दुई खालको नागरिकहरू हुँदैन भन्यौँ । सबै समान हुन्छ भन्यौँ । त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो कुरा देखिन्छ । नेपालको राष्ट्रध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर हामीले उपचार गर्ने । अनि उसको उपचार खर्च जनताले बेहोर्नुपर्ने अथवा राज्यकोषले बेहोर्नुपर्ने । तर नागरिकचाहिँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने । अस्पतालमा गए बन्धक बन्नुपर्ने । यो गलत हो गर्न पाइँदैन,’ महामन्त्री थापाले भने ।

नागरिक र नेताहरूको उपचार फरक-फरक हुनुहुँदैन भनेर आफूहरूले कानुनसमेत बनाएको महामन्त्री थापाको भनाइ छ । ‘यो गर्न पाइँदैन भनेर संसद्‍मा हामीले कानुन बनाएका छौँ । त्यो कानुनलाई संशोधन गर्ने प्रस्तावकमध्येको एक म हुँ,’ उनले भने ।

त्यस्तै उनले राष्ट्रपति पौडेललाई दिल्लीमा लागेको उपचार खर्च आफै बेहोर्न आग्रह गर्दै थापाले भने, ‘ म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, सिंगो नेपाली नागरिकको तर्फबाट अनुरोध गर्न चाहन्छु, हाम्रो राष्ट्रपतिले मलाई के विश्वास छ भने यो कानुनको बारेमा उहाँलाई हेक्का छैन भन्ने मलाई लागेको छ । त्यसैले यो कानुनप्रति उहाँ सचेत रहेर यसरी उपचार गर्ने कुरा यहाँ गर्ने, बाहिर गर्ने यहाँका चिकित्सकहरुले भनिसकेपछि त्यो चिकित्सकीय कुरा हो । परिवारले गर्ने निर्णयको कुरा हो । तर त्यो उपचारको खर्च, मेरो उपचारको खर्च मैले मेरो खल्तीबाट । यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट बेहोर्नुपर्छ । म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्‍याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ ?’

महामन्त्री थापाले कांग्रेसले विगतमा निर्वाचन अगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महसुस गर्नुपर्नेसमेत बताए । आगामी दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै पनि गठबन्धन गर्न नहुनेसमेत उनको भनाइ छ । आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरुको न्यूनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरुलाई उनको आग्रह छ । त्यस्तै श्रमिक अस्पताल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन पनि उनले श्रमिकहरुलाई आह्वान गरे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment