बराहक्षेत्रसँग सम्झौता गर्न धरानका मेयर साम्पाङ सहितको टोली आज पनि बराहक्षेत्र जाने

१८ वैशाख,धरान। कोकाहाको पानी धरान ल्याउन बराहक्षेत्र नगरपालिकाले राखेको सर्त एवं मागहरुबारे आज सम्झौता हुने भएको छ । 

सम्झौता गर्न धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहितको टोली आज दिउँसो १ बजे बराहक्षेत्र नगरपालिका जाने भएका छन् । मेयर साम्पाङले बिहान श्रमदाता तथा आर्थिक सहयोगीहरुलाई धन्यवाद दिने क्रममा आफुहरु सम्झौता गर्न जाने जानकारी दिएका हुन् । उनले बराहक्षेत्रको जायज मागहरुको बिषयमा सम्झौता हुने पनि बताए । 

मेयर साम्पाङका अनुसार माग सम्बन्धमा सम्झौताको ड्राफ्ट बराहक्षेत्रले नै तयार गरेको छ । उक्त ड्राफ्टबारे छलफल गरि अन्तिमरुप दिएर सम्झौता हुनेछ । शनिबार जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको रोहबरमा बराहक्षेत्र र धरानका मेयरबीच वार्ता भएको थियो । उक्त वार्तामा बराहक्षेत्रले ४ बुँदे मागहरु राखेको थियो । ती मागबारे धरानका मेयर, उपमेयर सकरात्मक भएका थिए, र २ दिनभित्र लिखित सम्झौता गर्ने सहमति भएको थियो । सम्झौताको लागि बराहक्षेत्रको कार्यपालिकाले हिजो (आइतबार) ५ सदस्यीय समिति गठन गरिसकेको छ । 

कार्यपालिकाले मलाई निर्णय अधिकार दिएको छ: मेयर

बराहक्षेत्रको प्रमुख मागमा कोकाहा खानेपानी अभियानबारे धरान उपमहानगरपालिकाको संस्थागत निर्णय हुनुपर्ने भन्ने छ । बराहक्षेत्रको यो माग तब पुरा हुन्छ, जब कार्यपालिका बैठक बसेर यो एजेण्डामा निर्णय हुन्छ । तर, अहिले कार्यपालिका बैठक बस्न सकिरहेको छैन । संस्थागत निर्णय हुन नसक्ने यो अवस्थामा कसरी हुन्छ सम्झौता ? कार्यपालिका बैठकबाट निर्णय नगरि यो बुँदामा कसरी हुन्छ सम्झौता ?

मेयर साम्पाङ भने गत माघ १४ गते भएको कार्यपालिका बैठकबाट नै खानेपानी सम्बन्धी निर्णय गर्ने अधिकार आफुलाई प्रत्यायोजन भएको बताउँछन् । उक्त बैठकमा आइयुडिपीमा भएको अनियमितता छानबिन गर्ने एजेण्डामा पनि थियो । उक्त एजेण्डामा वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुले खानेपानी र आइयुडिपी प्रोजेक्टको बिषय धरान खानेपानी व्यवस्थापन बोर्डसँग सम्बन्धित भएकोले कार्यपालिका बैठकमा एजेण्डा ल्याउन आवश्यक नभएको भन्दै बोर्डबाट नै निर्णय गराउन सुझाव दिएका थिए ।

मेयर साम्पाङले सोही निर्णयलाई आधार मानेर कार्यपालिका बैठकमा खानेपानीको बिषयमा निर्णय गराउनु नपर्ने र अधिकार आफुलाई प्रत्यायोजन भइसकेको जिकिर गरेका छन् । उनले भने,‘माघ १४ गतेको बैठकमा खानेपानी, आइयुडिपी भ्रष्टचारको छानबिन गर्ने बिषय लैजादा खानेपानीको बिषय यहाँ नल्याउनु, निर्णय गर्ने अधिकार नगर प्रमुखलाई नै दिने भनेर अधिकार प्रत्यायोजन भइसकेको छ ।’ खानेपानी बोर्डको अध्यक्ष पनि मेयर हुने समझदारी अनुसार साम्पाङले नै गरिरहेका छन् । बोर्डको ऐनमा भने अध्यक्ष मेयर हुने भन्ने छैन । तर, स्वर्गीय तारा सुब्बा मेयर भएको बेला देखि नै बोर्डको अध्यक्ष मेयर हुने समझदारी भए अनुसार नै अहिले बोर्ड अध्यक्षमा मेयर साम्पाङ रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment