२० लाखमा सुरू ‘ओखर घडी’ यसरी बन्दैछ ब्रान्ड, ओखरकै घडी, ओखरकै चस्मा

१७ बैशाख काठमाडौं । ओखर – यो शब्द सुन्नासाथ हामीलाई खानेकुराको याद आउँछ।

यहाँ भने हामीले खाने ओखरको कुरा गरेका छैनौं। यो हातमा लाउने ओखर हो अर्थात् ओखर ब्रान्डको घडी।

नेपाली ब्रान्डको यो घडी ओखरजस्तो आकारको होला कि भन्ने पनि धेरैलाई लाग्न सक्छ। खासमा यो घडीको डायल र चेन ओखरको काठले बनेको छ।

ओखर घडी ‘काशकर्प’ ले दुई वर्षअघि बजारमा भित्र्याएको हो। काशकर्पका सञ्चालक प्रकाश दाहालका अनुसार यसमा जापानी कम्पनीको इन्जिन राखिएको छ।

एउटा मोडलबाट सुरू भएको ओखर घडीका अहिले ६ वटा मोडल पाइन्छन्।

‘पहिले काष्ठमण्डप मोडलमा र एउटा आकारमा मात्रै थियो,’ उनले भने, ‘पाँच वटा मोडल र आकार पनि थपिएको छ।’

थपिएका मोडलहरू कालापत्थर, अष्टमंगल, मण्डल, बृहस्पति र हिरण्य हुन्।

कालापत्थर चारपाटे डिजाइनमा छ। यसमा डायलको रङ कालो छ भने भित्र पत्थर प्रयोग गरिएको हुन्छ।

सुरूमा यो घडी महिला र पुरूष दुवैका लागि एउटै आकारमा पाइन्थ्यो। अहिले पुरूषका लागि ४१ एमएम र महिलाका लागि ३४ एमएममा ल्याइएको छ। यसको मूल्य ६ हजार ९ सय ९० रूपैयाँ पर्छ।

अर्को मोडल हो–अष्टमंगल।

घडीको डायलमा आठ वटा कुना राखेर डिजाइन गरिएकाले यसको नाम अष्टमंगल राखिएको हो। पुरूषका लागि डिजाइन गरिएको अष्टमंगल घडीमा अंकको ठाउँमा गणेश, कमलको फूल, माछा, शिव, बुद्ध लगायत आठ वटा चिह्न छन्। यसको डायलभित्र तीन वटा सब-डायल हुन्छ।

महिलाकोमा भने चिह्न छैनन्, दुइटा सबडायल छन्। यसमा स्टपवाच र क्रोनोग्राफ फिचर पनि छ।

अहिले यो घडी हरियो रङमा मात्रै पाइन्छ। केही समयपछि नीलो ल्याउने योजना छ। यसको मूल्य अरू मोडलको तुलनामा महँगो पर्छ, नौ हजार ९ सय ९० रूपैयाँ।

‘स्टिल राम्रो गुणस्तरको छ। सिको कम्पनीको मेसिन भएकाले तुलनात्मक रूपमा महँगो भएको हो,’ प्रकाशले भने।ओखर ब्रान्डको सबभन्दा महँगो भने बृहस्पति मोडलको घडी हो। सुरूको लटका दुई सय वटा बृहस्पति घडी बिकिसकेका छन्। अब दोस्रो लट उत्पादन गर्ने तयारी छ। यो ४२ एमएम आकारमा मात्रै पाइन्छ। महिला र पुरूष दुवैले लगाउन मिल्छ।

यो अरू मोडलभन्दा धेरै परिमार्जित भएको प्रकाश बताउँछन्।

‘यसमा सिसा एकदमै राम्रो प्रयोग भएको छ। मुख्य प्रेसर पर्ने बिन्दुमा मेटल प्रयोग भएकाले अलि भारी पनि छ,’ उनले भने, ‘यसमा हत्तपत्त पानी पस्दैन।’

यसको मूल्य ११ हजार ९ सय ९० रूपैयाँ पर्छ।

अर्को मोडल हो मण्डल।

नामअनुसारै यो मण्डल डिजाइनको छ। डायलभित्र गणेश, महादेव, बुद्ध र नेपालको झन्डा चिह्न प्रयोग  भएका छन्।

झन्डा भएको घडीको विदेशबाट धेरै माग आइरहेको प्रकाश बताउँछन्।

४२ र ३६ एमएम गरी दुई आकारमा उपलब्ध यो घडीको मूल्य पाँच हजार ९ सय ९० रूपैयाँ पर्छ।

कम्पनीले महिलाका लागि मात्रै भनेर निकालेको मोडल हो हिरण्य।

सुनौलो रङ डायल भएको हिरण्यको मूल्य पाँच हजार ७ सय ९० रूपैयाँ छ।

‘अब पुरूषका लागि मात्र भनेर हिमाल मोडल ल्याउन लागेका छौं,’ प्रकाशले भने, ‘यसको डायल पूरै सेतो हुन्छ।’

ओखरको पहिलो घडी काष्ठमण्डप ‘डार्क’ र ‘लाइट’ गरी दुई रङमा पाइन्छ। 

डायल ४२ एमएम र ३४ एमएमका छन्। यसको मूल्य ६ हजार ४ सय ९० रूपैयाँ छ।

‘ओखरको काठबाट बनेको चेनको हरेक टुक्रा सबै हातबाट बनाइन्छ। त्यसैले यसको लागत महँगो पर्छ,’ प्रकाश भन्छन्।

कसैलाई उपहार दिने हो भने कम्पनीले घडीमा ग्राहकले भनेअनुसार सन्देश लेखिदिन्छ। सन्देश लेखाउन दुई सय रूपैयाँ तिर्नुपर्छ।

‘मेरो परिवारमा बाहिरबाट आएको एउटा उपहारमा नाम लेखिएको थियो। त्यो आइडिया मनपर्‍यो। हेर्दा सानो कुरा हो तर यसले कति महत्व राख्दो रहेछ भन्ने म अहिले बुझ्दै छु,’ प्रकाशले भने, ‘यो सुविधाले ग्राहक खुसी भएका छन्।’

कम्पनीले नर्स पेसामा भएकाहरूको सहजताका लागि विशेष ओखर घडी ल्याएको छ। नर्सले कामको समयमा घडी लाउन नपाउनले भएकाले कोटको बाहिरपट्टी झुन्ड्याउन मिल्ने गरी डिजाइन गरिएको उनी बताउँछन्। 

यसको नाम ‘सहारा नर्स वाच’ राखिएको छ जसको मूल्य दुई हजार ४ सय ९० रूपैयाँ पर्छ।

कम्पनीले ‘ओखर स्टोर डटकम’ मार्फत घडी बेचिरहेको छ। यसबाट अर्डर गरेपछि कम्पनीले घरमै पुर्‍याइदिन्छ। डेलिभरी शुल्क काठमाडौं उपत्यका भित्र ९९ सय रूपैयाँँ र बाहिर एक सय ४९ रूपैयाँ तिर्नुपर्छ। विशेष चाडपर्वमा भने निःशुल्क डेलिभरी हुने प्रकाशले बताए।

कम्पनीले घडीमा एक वर्ष वारेन्टी दिन्छ। काठबाट बनेका घडी स्टिल जस्तो नहुने भएकाले अलि जतन गर्नुपर्ने उनी बताउँछन्।

‘हात धुँदा, बाटोमा हिँडिरहेका बेला पानी पर्दा घडीमा पानी पस्दैन। तर धेरै समय पानीमा डुबाउने, बल लगाएर खोल्ने गर्‍यो भने काठ भाँचिन सक्छ,’ उनले भने।

घडी  बाँसको बाकसमा डेलिभरी हुन्छ। बाकसभित्र चेन घटाउने पिनका साथै घडी कसरी जतन गर्ने र ‘हामी घडी बेचेवापत रूख रोप्छौं’ भन्ने सन्देश लेखिएको कार्ड राखिन्छ। हाल धादिङमा पाँच सय वटा हाराहारी रूख रोपिसकेको उनले जानकारी दिए।

घडीमा केही समस्या आयो भने ग्राहकले कस्टमर केयर सेन्टरमा फोन गर्न सक्छन्। बिक्रीपछिको सेवा राम्रो दिएकाले ग्राहक आकर्षित भएको उनको भनाइ छ।

‘वारेन्टी अवधिमा ब्याट्री सकियो वा इन्जिनमा समस्या भए निःशुल्क मर्मत वा सट्टा गरिदिन्छौं। चेन टुटफुट भयो भने वारेन्टीभित्र पर्दैन,’ उनले भने, ‘त्यसको भने शुल्क तिर्नुपर्छ।’

कम्पनीले ओखरकै काठबाट बनेको घडी ब्यान्ड (चेन) पनि बनाउँछ। कसैलाई ओखरको डायल भएको घडी मननपरे पनि ब्यान्ड मनपर्न सक्छ। स्मार्ट घडी वा अरूमा पनि यो हाल्न सकिन्छ। यसबाहेक ओखरकै काठबाट बनेको कफलिंक, चस्मा, कार्ड होल्डर, मोबाइल कभर, झुम्का पाइन्छ। प्राथमिकता भने घडीलाई नै दिएको प्रकाश बताउँछन्।

‘अहिले महिनामा दुई सय वटा हाराहारी घडी बिक्री भइरहेको छ,’ उनले भने, ‘त्यसमध्ये २५ देखि ३० प्रतिशत उपहारका रूपमा विदेश जान्छ।’

आगामी दिनमा ब्याट्री बिना चल्ने घडी पनि ल्याउने योजना छ।

प्रकाशका अनुसार यी सबै घडीको डायल र चेन छुट्टाछुट्टै चीनबाट आउँछ। त्यसलाई यहाँ ल्याएर जोड्ने काम कम्पनीले गर्छ। घडी ‘एसेम्बल’ का लागि ६ जना कर्मचारी छन्। डिजाइन भने प्रकाश आफैं गर्छन्।

‘कसैलाई ओखर काठ हो कि होइन भन्ने शंका लागे काठ विशेषज्ञलाई देखाउन सकिन्छ,’ उनले भने।

सुरूमा पाँच जना मिलेर यो काम थालेको भए पनि अहिले प्रकाश एक्लै सम्हालिरहेका छन्। २० लाख रूपैयाँमा सुरू गरेको कम्पनीको लगानी अहिले एक करोड हाराहारी भएको उनले बताए।

‘सुरूमा यो घडी युवा समूहले मात्र प्रयोग गर्लान् भन्ने सोचेका थियौं,’ प्रकाश भन्छन्, ‘अहिले आमाबुवाको हातमा पनि देख्दा खुसी लाग्छ।’

(ओखर स्टोरको वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्क नम्बरः ९८६०११३८२६)



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment