भरतपुर भ्रमण वर्ष आठ महिना पछाडि धकेलियो, अब २०२४ भ्रमण वर्ष

१६ बैशाख, चितवन ।भरतपुर भ्रमण वर्ष आठ महिना पछाडि धकेलिएको छ । ठूला आयोजनाहरु निर्माणका क्रममै रहेकाले भ्रमण वर्ष पछाडि धकेलिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताएकी छन्।

यसअघि २०८० साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउने निर्णय भएको थियो । अब महानगरले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउने दाहालले बताइन् ।

उनले भनिन्, ‘भरतपुर महानगरमा अधिकांश ठूला आयोजना निर्माणाधीन अवस्थामा छन्, यतिबेला भ्रमण वर्ष मनाउँदा फलदायी हुँदैन भन्ने लागेर भरतपुर भ्रमण वर्षलाई पर सारिएको हो ।’

उनका अनुसार भरतपुर महानगरका गौरवका आयोजनाहरु पुलचोक–गोन्द्राङ ६ लेन सडक, सिटी हल, भूमिगत विद्युतीय लाइन, बाइपास सडकलगायतका दर्जनौँ आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । ‘सडक निर्माणका आयोजनाहरु पूरा नहुँदा भ्रमण वर्षमा आएका पाहुनाहरुले सहज महसुस गर्दैनन्, अनि तयारी पनि थोरै पुगेन’, प्रमुख दाहालले भनिन्, ‘२०८० सम्म महानगरमा सुरू गरिएका सबै आयोजनाहरु पूरा हुन्छन् र भ्रमण वर्ष गर्न सकिन्छ भनेर घोषणा गरिएको थियो, तर आयोजनाहरु पूरा नभएकाले भ्रमण वर्षलाई ८÷९ महिना पर सारिएको हो ।’

‘भूमिगत विद्युतीय तारको कामदेखि छ लेन सडकको काम सम्पन्न भएपछि भरतपुर सहर हेर्न लायक हुन्छ, त्यसपछि भरतपुर भ्रमण वर्ष मनाउँदा सफल हुन्छ’, प्रमुख दाहालले भनिन् । उनका अनुसार सन् २०२३ को अन्तिमसम्ममा भूमिगत विद्युतीय तारदेखि ६ लेन सडक अन्तिम चरणमा पुग्नेछ ।

‘संरक्षणका लागि पर्यटन स् पर्यटनका लागि भरतपुर’ भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष मनाउन लागिएको हो । यसअघि नै भरतपुर महानगरले प्रमुख सात गन्तव्यसहित ३० वटा पर्यटकीय गन्तव्य छनोट गरिसकेको छ । भरतपुर महानगरपालिका प्राकृतिक सौन्दर्यले सम्पन्न, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment