पश्चिम सुर्खेतमा राजमार्गको काम सुरु

१६ बैशाख, काठमाडौं ।  । मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमध्ये दुई खण्डको काम अघि बढाइएको छ। ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको हो। सम्झौताअनुसारकै समयावधिमा निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्ड निर्माणको काम अघि बढाइएको हो।

विद्यापुर–बल्दे सडकखण्डमा अहिले बाटो कटिङको काम धमाधम भइरहेको छ। पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो। २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रुपियाँमा काम सम्पन्न गर्ने गरी बानियाँ मोतीदान डी.एस. जेभी काठमाडौँले ठेक्का सम्झौता गरेको छ। सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। काम सुरु भएको दुई महिनाको अवधिमा करिब सात प्रतिशत सम्पन्न भएको छ।

राजमार्गको जङ्गल क्षेत्रमा पर्ने रुखको कटानका लागि पनि प्रक्रिया अघि बढेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ। यो सडकखण्डमा आधाभन्दा बढी जङ्गल क्षेत्र परेको कार्यालयका इन्जिनियर रामसागर हरिजनले जानकारी दिनुभयो। राजमार्ग क्षेत्रमा पर्ने रुख कटान आदेश नहुँदा अहिले सडकको बीचबीचमा रुख छोडेर काम भइरहेको छ। सडक आयोजनाअन्तर्गत ट्याक खोल्ने र चौडा बनाउने काम भइरहेको कार्यालयका इन्जिनियर हरिजनले बताउनुभयो। उहाँका अनुसार अहिले सुरुवाती चरणका काम भइरहेका छन्। जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्टजस्ता काम धमाधम चलिरहेका छन्। वन क्षेत्रमा पर्ने ठाउँमा समेत रुख छोडेर काम अघि बढाइएको छ। रुख कटानको कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत काम अघि बढ्ने जनाइएको छ।

मदन भण्डारी राजमार्गअन्तर्गतकै बड्डीचौर–खम्बागाडे सडक खण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ। उक्त सडकखण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो। यो सडकखण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ। उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपियाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो। २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ।

हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले बताउनुभयो। उहाँका अनुसार उक्त खण्डमा तीन वटा मोटरेबल पुल निर्माण सम्झौता भई अघि बढेका छन्। पुनर्निर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ। यो सडकखण्डमा सात किलोमिटर जङ्गल क्षेत्र परेको छ। वन क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएकाले वन क्षेत्रमा पर्ने रुख कटानको काम पनि अघि बढ्ने उहाँले बताउनुभयो। रुख कटानको अनुमति नहुँदा काम अघि बढ्न सकेको छैन। सरकारको प्राथमिकतामा रहेको सडक, विद्युत्लगायतका पूर्वाधार निर्माण हुँदा समयमा रुख कटान आदेश नभएर काममा ढिलाइ हुने गरेको छ।

दुई वटा खण्डको काम भइरहे पनि राजमार्गअन्तर्गत खम्बागाडे–विद्यापुर सडकखण्डको काम भने अघि बढ्न सकेको छैन। उक्त खण्डमा कामको सम्झौतासमेत भएको छैन। राजमार्गको तीन वटा सडक खण्डमध्ये दुई वटा खण्ड मदन भण्डारी राजमार्गले गर्नेछ। त्यसमध्येको खम्बागाडे–विद्यापुर सडकखण्डको १० किलोमिटरको काम सञ्चालन नभएको हो। यसैबीच भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले मदन भण्डारी राजमार्गको काम अघि बढाउन निर्देशन दिनुभएको छ। सडक सास्तीले नागरिक आजित बनेको भन्दै उहाँले काम रफ्तारमा गर्न सुझाव दिनुभएको हो। मन्त्री चपाईं बाटोको अनुगमनका लागि पश्चिम सुर्खेत पुग्नुभएको थियो।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment