विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा

१४ बैशाख पाँचथर । कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् । तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ ।

चालू शैक्षिक सत्रमा विद्यालयमा भर्ना हुन आउने विद्यार्थी अत्यधिक भएपछि विद्यालयले बुधबार प्रवेश परीक्षा लिएको छ । विद्यालयका प्रधानाध्यापक बिनोदकुमार ठाकुरका अनुसार विद्यालयमै अध्ययनरत २ हजार १ सय ३३ जना विद्यार्थी छन् । नयाँ विद्यार्थी भर्ना गराउने अवस्था छैन । तर, विभिन्न कक्षामा नयाँ विद्यार्थी भर्ना गराउन दबाब बढेपछि अन्य विद्यालयबाट आएका १ सय ४३ जना विद्यार्थी भर्ना गर्ने योजना विद्यालयले बनाएको प्रधानाध्यापक ठाकुरले बताए ।

‘१ सय ४३ जनाको कोटामा ३ सय ५ विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि प्रवेश परीक्षा लिन बाध्य भयौं,’ प्रधानाध्यापक ठाकुरले भने । कक्षा १ भन्दा मुनि दुईवटा कक्षा (एलकेजी र यूकेजी) रहेको विद्यालयमा केजीदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ । करिब डेढ दशक अघिदेखि कक्षा ११ र १२ मा विज्ञान संकायसमेत पठनपाठन हुँदै आएको विद्यालयमा २०७६ सालदेखि कक्षा ९–१२ का लागि इन्जिनियरिङ विषय पनि सञ्चालन हुँदै आएको छ ।

२००६ सालमा प्रसादसिं स्कुलको नाममा स्थापना भएको यो विद्यालय फिदिम माध्यमिक विद्यालयको नामले परिचित छ । कोसी प्रदेशको सर्वोकृष्ट सामुदायिक विद्यालयका रूपमा पुरस्कृत भइसकेको यो विद्यालय जिल्लाकै अब्बल शैक्षिक संस्थाको रूपमा चिनिन्छ । सुविधा सम्पन्न भौतिक संरचना, पुस्तकालय, गुणस्तरीय र परिणाममुखी शैक्षिक वातावरणका कारण यस विद्यालयमा विद्यार्थीको अत्यधिक चाप हुने गरेको स्थानीयको भनाइ छ ।

विद्यार्थी शून्य भएपछि विद्यालय समायोजन
गैंडाकोट नगरपालिकाले विद्यार्थी संख्या कम भएको विद्यालयलाई समायोजन गरेको छ । वडा नं १८ स्थित मंगलादेवी आधारभूत विद्यालयमा एकजना पनि नभएपछि अर्को विद्यालयमा समायोजन गरिएको हो ।

विगतका वर्षदेखि नै विद्यार्थी न्यून रहेको गैंडाकोट–१८ का वडाध्यक्ष तिलबहादुर चितौरेले बताए । ‘गाउँमा विद्यार्थी पाउनै छाड्यौं,’ वडाध्यक्ष चितौरेले भने, ‘यहाँको भौगोलिक अवस्थाका कारण पनि विद्यालय सञ्चालन गर्न पनि कठिन भयो ।’

यहाँ बालविकास सहजकर्ता धनमाया डिस्वा र कार्यालय सहयोगी बमबहादुर रिलामी मगर कार्यरत छन् । विद्यालयमा विद्यार्थी संख्या एकजना पनि नभएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त नभएको नगरपालिकाको ठहर छ । विद्यार्थी नभएपछि विद्यालयलाई अर्को विद्यालयमा समायोजन गरिएको नगर शिक्षा समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए ।

नगर शिक्षा समितिको गत २३ चैतमा बसेको बैठकको निर्णय र सिफारिसका आधारमा समायोजनको निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए । ‘विद्यालयलाई वीरेन्द्र आधारभूत विद्यालयमा समायोजन गर्ने र सो विद्यालयको भौतिक तथा अन्य सम्पत्ति वीरेन्द्र आधारभूत विद्यालयको प्रत्यक्ष नियन्त्रण एवं स्वामित्वमा रहनेगरी व्यवस्थापन गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत रिजालले भने ।

त्यस्तै, सो विद्यालयमा कार्यरत बालविकास सहजकर्ता डिस्वालाई वीरेन्द्र आधारभूत विद्यालयमा र कार्यालय सहयोगी मगरलाई गैंडाकोट–३ मा रहेको मंगलादेवी आधारभूत विद्यालयमा खटाइएको छ । बसाइँसराइका कारण गाउँमा बस्ती पातलिएपछि विद्यालयमा विद्यार्थी नभएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment