महासंघको अध्यक्षमा ढकाल, यी हुन् उनले प्राथमिकतामा राखेका ५ काम

०१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासंघको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन्।

अध्यक्ष शेखर गोल्छामार्फत पद तथा गोपनीयताको शपथ लिएर उनले महासंघको अध्यक्षको जिम्मेवारीको यात्रा सुरू गरे।

शपथपछि उनले आफूले लामो समयदेखि सर्वसम्मतिको प्रयास जारी राखेको र अन्तिममा सफल भएको बताए।उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरूको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासंघको छविलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गरे।

अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी–व्यवसायी हुन्।
महासंघमा २ कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका उनले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।

ढकाल आईएमई ग्रुपका संस्थापक अध्यक्ष हुन्। उनको व्यावसायिक यात्रा करिब ४ दशक लामो छ।

२०२२ सालमा बागलुङको अमलाचौरमा जन्मिएका उनले २०४५ बाट आफ्नो व्यवसाय शुरू गरेका हुन्।

२०४८ मा कार्गो कम्पनी हुँदै २०५७ सालमा नेपालको पहिलो रेमिट कम्पनी आईएमई रेमिट स्थापना गरी अध्यक्ष ढकालले व्यावसायिक फड्को हासिल गरेका थिए।

हाल आईएमई ग्रुपसँग सम्बद्ध २ दर्जनभन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठान नेपालसहित विश्व बजारमा स्थापित छन्। ढकाल नेतृत्वको आईएमई ग्रुपले २० हजारभन्दा बढीलाई प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ।

ढकालको नेतृत्वमा आईएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी २ दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ।

यसअन्तगर्त रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्रका कम्पनीहरू बजारमा प्रतिस्पर्धी र गतिशील छन्।

ग्लोबल आईएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आईएमई लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स, आईएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आईएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायत कम्पनीहरूमा आईएमई ग्रुपको हिस्सेदारी छ।

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल ७ वटै प्रदेशमा केवलकारसहित नयाँ पर्यटकीय गन्तव्य निर्माणमा सक्रिय छन्।

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ।

औपचारिक माध्यममार्फत ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाललाई नेपाल सरकारले पटक–पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सीआईपी’ बाट सम्मानित गरेको छ। यस्तै रेमिट्यान्स व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिरेका आधारमा लगातार ४ पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आईएमई पुरस्कृत भएको छ।

यसरी आईएमई ग्रुप, स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाहमा उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास तथा आफ्ना ग्राहकहरूको आर्थिक–सामाजिक रुपान्तरणमा समर्पित देखिन्छ।

कोभिड–१९ मा आईएमई ग्रुपले भरोसा कोष स्थापना गर्दै करोडौँ रकम सहयोग गरेको थियो। ग्रुपले वैदेशिक रोजगारीमा रहँदा कोभिड-१९ बाट मृत्यु भएका श्रमिकका परिवारलाई नगद सहयोग समेत गरेको थियो।

महासंघको नवनिर्वाचित अध्यक्षका रुपमा ढकालले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउँदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक–निजी साझेदारीको प्रवर्द्धन गर्ने तथा स्वदेशी–विदेशी लगानी प्रर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेका छन्।

अध्यक्ष ढकालले उद्यम व्यवसाय तथा लगानी गर्दा ३ वटा सिद्धान्तलाई सधैँ प्राथमिकतामा राखेका छन्।

पहिलो, आम जनतालाई सीधै फाइदा वा सेवा पुर्‍याउने, दोस्रो सरकारले प्राथमिकतामा राखेको क्षेत्र र तेस्रो, व्यवसायका रूपमा अघि बढाउन सम्भावना भएको क्षेत्रका रूपमा रहेको उनको भनाइ छ।

महासंघ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवर्द्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्यसमेत अध्यक्ष ढकालको छ।

ढकालले अध्यक्षका रूपमा ५ वटा कामलाई प्राथमिकतामा राखेका छन्।

वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीच साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने ५ कामलाई प्राथमिकतामा राखेको ढकालको भनाइ छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment