महासंघको निर्वाचन सम्पन्न, मतपरिणाम आज

३० चैत, काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभापछि बुधबार बिहान १० बजेबाट निर्वाचन सुरु भएको मतदान कार्य साँझ ६ बजे सम्पन्न भएको थियो ।

मतदान सकिएर साँझ ८ बनेदेखि थालनी भएको सो निर्वाचनको मतपरिणाम भने आज (बिहीबार) बिहान मात्र सार्वजनिक हुनेछ । एकजना वरिष्ठ उपाध्यक्षसहित कुल ६४ पदका लागि भएको सो निर्वाचनमा देशभरका व्यवसायी सहभागी भएका थिए । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान सुरु गर्न नै ढिला भएका कारण साँझ ४ बजेसम्मको समय पुनः २ घण्टा थप गरिएको थियो ।

महासंघ निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी दिएअनुसार सो निर्वाचनमा कुल १ हजार ८ सय ९१ मतदाता रहेकोमा १ हजार ८ सय ८१ मत खसेको थियो । जसमध्ये वस्तुगततर्फको १ सय २३ अर्थात् शतप्रतिशत मत खसेको थियो । यसैगरी, १ सय १७ मत रहेको जिल्ला÷नगरतर्फपनि शतप्रतिशत मत खसेको थियो । त्यसैगरी, १ हजार ७ सय ४८ मतदाता रहेको एसोसिएटतर्फबाट भने जम्मा १ हजार ६ सय ४१ मत खसेको थियो ।

आगामी नयाँ नेतृत्व चयन गर्न सम्पन्न सो निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जनकुमार श्रेष्ठ र रामचन्द्र संघईको समूह चुनावी मैदानमा उत्रिएका थिए । कुल ६४ पदका लागि १ सय १६ जना व्यवसायीबीच प्रतिस्पर्धा भएको थियो । जसमा जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए ।

महासंघको जिल्ला नगरको उपाध्यक्षमा तीन जना, वस्तुगत उपाध्यक्षमा तीन जना र एसोसिएट उपाध्यक्षमा दुई जना व्यवसायीको उम्मेदवारी परेको थियो । जिल्ला÷नगर उपाध्यक्षका लागि सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन, मनीषलाल प्रधान, हेमराज ढकाल र एसोसिएट उपाध्यक्षका लागि ज्योत्सना श्रेष्ठ र भरत राज आचार्य दुई जनाको मात्र उम्मेदवारी परेको थियो ।

यसैगरी, महासंघको जिल्ला÷नगर संघतर्फको १८ सदस्यका लागि ३२ जना, वस्तुगत संघतर्फको १४ सदस्यका लागि २८ जना र एसोसिएटतर्फ १९ सदस्यका लागि ३० जना गरी कुल ९० जनाको उम्मेदवारी परेको थियो ।

महासंघको विधानअनुसार प्रत्येक प्रदेशबाट एक÷एक जना सदस्य हुन पाउने व्यवस्था छ । जसमा लुम्बिनी प्रदेशबाट निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य प्रदेशमा निर्वाचन हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशबाट २ जना, कर्णाली प्रदेशबाट ३ जना, गण्डकी प्रदेशबाट २ जना, बाग्मती प्रेदशबाट २ जना, कोसी प्रदेशबाट ३ जना र मधेस प्रदेशबाट २ जनाले उम्मेदवारी दिएका थिए ।

महासंघको विद्यानबमोजिम यसै वार्षिक साधारण सभासँगै चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष भइसकेका छन् । वर्तमान अध्यक्ष शेखर गोल्छाको कार्यकाल बुधबारदेखि नै समाप्त भइसकेको छ । चन्द्रप्रसाद ढकालको कार्यअवधि सकिएपछिको आगामी कार्यकालका अध्यक्ष बन्ने बाटो खुलाउन अहिले वरिष्ठ उपाध्यक्ष पदमा भएको निर्वाचनमा आ–आफ्ना भिन्दाभिन्दै समूह बनाएर चुनावी मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईबीचको त्रिपक्षीय भिडन्तमा पहिलो चरणमा नै वरिष्ठ उपाध्यक्षको नतिजा आउने सम्भावना भने न्यून रहेको सम्बन्धित व्यवसायीले आंकलन गरेका छन् ।

महासंघको विधानअनुसार यस निर्वाचनमा जम्मा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार वरिष्ठ उपाध्यक्षमा विजयी हुनेछन् । अहिले चुनावी मैदानमा तीन जना उम्मेदवार भएकाले वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसक्ने र पुनः अर्को चरणमा निर्वाचन हुने आँकलन उनीहरूले गरेका छन् । जसमा बढी मत ल्याउने दुई जना वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवारले पुनः दोस्रो चरणमा प्रतिपस्र्धा गर्नुपर्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarFNCCIhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment