प्रेरणा: डाँकु र बालकको सवाल–जवाफ

२९ चैत्र, काठमाडौँ । एकपटक एउटा लामो लस्कर बगदादतिर गइरहेको थियो । बाटामा डाँकाको समूहले लुटपाट सुरु गर्‍यो । लुटिने सो लस्करमा नौ वर्षको एउटा बालक एकातिर बसेर चुपचाप यो लुटपाट हेरिरहेको थियो । एउटा डाँकाले सो बालकलाई देखिहाल्यो । उसले बालकसँग सोध्यो, ‘ओइ फुच्चे, तँसँग पनि केही छ कि ?’ ‘मसँग ४० असर्फी छन् ।’ बालकले निडर भई जवाफ दियो ।

बालकको जवाफ सुनेर त्यो डाँकु मरीमरी हाँस्यो र सोध्यो, ‘के भनेको, तँसित ४० असर्फी छन् रे ?’ बालकले ढुक्कसाथ जवाफ दियो, ‘हो मसँग ४० असर्फी छन् ।’ डाँकुले बालकको हात समाएर सरदारकहाँ लिएर गयो र भन्यो, ‘सरदार, यो बालक आफूसँग ४० असर्फी छन् भनेर दाबी गर्दै छ ।’ उसको कुरा सुनेर सरदारले बालकलाई सोध्यो, ‘तेरा असर्फी कहाँ छन् त ?’ बालकले आफ्नो झोला खोल्यो र त्यो च्यातेर असर्फी अगाडि राखिदियो । त्यो देख्दा डाँकुहरू छक्क परे । 

सरदारले सोध्यो, ‘ए फुच्चे, असर्फी यसरी राख्ने उपाय तँलाई कसले सिकायो ?’ बालकले नडराई जवाफ दियो, ‘मेरी आमाले यो झोला सिलाइदिनुभएको थियो । अरूले थाहा नपाऊन् भनेर उहाँले यो असर्फी यसरी राखिदिनुभएको हो ।’सरदारले अचम्म मान्दै सोध्यो, ‘तैँले यो असर्फीको बारेमा हामीलाई किन बताएको त ? हामीले यो लिन्छौँ भन्ने तँलाई डर लागेन ?’ बालकले जवाफ दियो, ‘म झुट कसरी बोल्न सक्थेँ ? म हिँड्ने वेलामा आमाले भन्नुभएको थियो, ‘बाबु, कहिल्यै झुटो नबोल्नू । झुटो बोल्नु पाप हो ।’

डाँकुको मनमा बालकको यस भनाइको असर प¥यो । उसले आफ्ना सबै साथीलाई भन्यो, ‘यो सानो बच्चाले आफ्नी आमालाई यति धेरै मान्छ कि यस्तो संकटमा पनि उसले झुटो बोलेन । हामी भने यति ठूलो भएर पनि कहिल्यै सत्मार्गमा हिँडेनौँ र लुटपाट गरिरह्यौँ । 

अब हामीले पनि यो लुटपाटको कर्म छाडेर सत्मार्गमा हिँड्नुपर्छ ।’ डाँकुहरूले त्यसै वेला अब कहिल्यै लुटपाट नगर्ने निर्णय गरे । उनीहरूले लुटेको सामान पनि फिर्ता गरिदिए । लस्करमा सामेल अरूहरू पनि आफ्नो सामान पाएर बडो प्रसन्न भए । उनीहरू पनि बालकको आदर गर्न थाले । यी बालकको नाम अब्दुल कादिर थियो । ठूला भएपछि यी बालक महान् सन्तका रूपमा प्रसिद्ध भए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment