रवि लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा बुझाए स्पष्टिकरणको जवाफ

चितवन, चैत २८ / चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन् । लामिछानेले खामबन्दी गरेर पठाएको स्पष्टिकरणको जवाफलाई कार्यालयले सोमबार निर्वाचन आयोगमा पठाएको छ ।

‘उहाँले सोमबार स्पष्टिकरणको जवाफ पठाउनुभएको थियो । हामीले यहाँबाट पनि सोमबार नै निर्वाचन आयोगमा पठाएका छौँ’, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले भने, ‘उजुरी र स्पष्टिकरणको जवाफलाई खामबन्दी गरेर हुलाकमार्फत पठाएका हौँ ।’

युवराज पौडेल (सफल)ले दर्ता गरेको उजुरीका आधारमा कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई ७ दिनको समय दिएर स्पष्टिकरण सोधेको थियो । लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः नागरिकता लिएको भन्दै चैत २२ गते पौडेलले इमेलमार्फत निर्वाचन अधिकृतको कार्यालयमा उजुरी हालेका थिए ।

रविविरुद्ध परेको अन्य तीन वटा उजुरीमाथि भने दाबी विरोध नपुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको थियो । अमेरिकी स्थायी आवासिय अनुमति पत्र त्यागेको तीन महिना नपुग्दै रविले उमेदवारी दिएको भन्दै उजुरी परेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment