मन्त्रालयको भागबण्डा टुंग्याउन बालुवाटारमा १० दलीय गठबन्धनको बैठक जारी

१५ चैत, काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। बैठकले गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा टुंग्याउने बताइएको छ।

मंगलबार बसेको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन। मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरेका थिए।

मंगलबारको बैठकमा मन्त्रालयहरुको भागबण्डाबारे सामान्य छलफल भए पनि दलहरुको आ–आफ्नै ‘दाबी’का कारण सहमति हुन सकेन।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी २–२, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई १–१ तथा स्वतन्त्र सांसदलाई १ मन्त्रालय दिने प्रस्ताव गरेका छन्।

प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल नभइ दलहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका नेताहरुले जनाएका छन्। स्रोतका अनुसार मंगलबारको बैठकमा नेपाली कांग्रेसले ९, एकीकृत समाजवादी र जसपाले ३–३ र लोसपाले २ मन्त्रालयमा दाबी गरेका छन्। मंगलबार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी भने सहभागी भएको थिएन।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment