विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी

१२ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल जारी राखेका छन् ।

नयाँ वानेश्वरस्थित संसद भवनको शंकर हलमा छलफल जारी छ । प्रतिनिधिसभा नियमावली लगायतका विषयमा छलफल केन्द्रित रहेको बताइन्छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन संसदमा विचाराधीन छ । प्रतिनिधि सभामा पेश भइसकेको नियमावलीको मस्यौदाउपर दलहरुले संशोधन प्रस्ताव राख्ने समय सकिएको छ ।

प्रतिनिधि सभा नियमावलीमा संशोधन प्रस्ताव राख्दै सत्तारुढ दलका सांसदहरुले प्रतिनिधि सभाको बैठक राख्ने र एजेण्डा तय गर्ने लगायतका विषयमा सभामुखको एकल अधिकार नरहने व्यवस्थाको वकालत गरेका छन् ।

सभामुख मनमौजी हुन सक्ने भन्दै सभामुखले विगतमा प्रयोग गर्दै आएको अधिकारलाई प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको क्षेत्राधिकारभित्र ल्याउने सत्तारुढ दलका सांसदहरुको प्रस्ताव छ ।

सदनमा सत्तारुढ दलहरुको बहुमत भएकाले प्रस्तावित नियमावलीको संशोधन प्रस्ताव पारित हुन सक्ने भएकाले सभामुख घिमिरेले त्यस खालको वातावरण बन्न नदिन पहल लिएको नेताहरु बताउँछन् ।

छलफलमा दलका प्रमुख सचेतक, सचेतकहरू, संसदका महासचिव र सचिहरू सहभागी भएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment