करार र ज्यालादारी श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

०८ चैत, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले करारमा काम गर्ने नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगार रहेका श्रमिकलाई कोषमा सूचीकरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले करार अस्थायी र ज्यालादारी काम गर्ने श्रमीकहरुलाई पनि छिट्टै कोषमा आवद्ध गर्ने बताएका हुन् ।

प्रचण्डले विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी भई लाभ लिन आह्वान गरे । प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई देशसँग जोडिराख्न र राज्य यहाँहरूसँगै छ भन्ने आभास दिलाउन पाएकोमा आफूलाई खुसी लागेको बताए ।

अहिले बाध्यताले रोजगारीका लागि वैदेशिक रोजगारीमा जान परे पनि वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति माया र सद्भाव रहेको उनको भनाइ छ । उनले भने,‘सरकार देश यहाँहरूसँगै छ भन्ने प्रतिबद्धता गर्छु, तपाईँहरू जहाँ भए पनि तपाईँहरूले देशको विकासमा सहयोग र्पुयाइरहनुभएको छ, तपाईँहरूलाई माया र सद्भाव छ ।’

उनले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नरहेको भन्दै अब विदेशमा रहेका नेपालीले दुःख पाउने दिन गएको बताए । उनले कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलतालगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका लागि नयाँ-नयाँ अवसर र गन्तव्यको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै श्रम सम्झौता गर्न बाँकी देशसँग सम्झौता गर्ने र भएका देशहरुसँगको सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अघि बढाउने बताए ।

प्रधानमन्त्री दाहालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ५ वर्षे रणनीति योजनाको पूर्ण कार्यान्वयनमा सरकारको सहयोग रहने प्रतिबद्धता जनाए ।

यस्तै कार्यक्रममा मुख्यसचिव डा शङ्करदास वैरागी गैरआवासीय नेपालीको सीप र पुँजीलाई नेपालको समृद्धिमा लागाउन सरकारले सहजीकरण गरेको धारणा राखे । अनौपचारिक र स्वरोजगार श्रमिकका लागि कुनै पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर रहेको अवस्थामा कोषले ल्याएको योजना नयाँ सुरुवात भएको बताए । उनले कोषको दायरा विस्तार गरेर सरकारको दायित्वलाई कम गर्दै लैजान सकिएको खण्डमा नागरिकले अप्ठ्यारो पर्दा कोषबाट सहयोग लिन सक्ने बताए ।

कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले यस योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताए । विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन पनि यस योजनाले सघाउ पु¥याउने उनको विश्वास छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम शक्तिको ठूलो हिस्सालाई यस योजनाले समेट्ने बताए ।योजनाबाट लाखौँ श्रमिक र आश्रित परिवार लाभान्वित हुने जनाउँदै उहाँले अप्ठ्यारो पर्दा सामाजिक सुरक्षा योजनाले राहत दिने बताए ।
सामाजिक सुरक्षा कोषमा सङ्कलन हुने योगदान रकमबाट आन्तरिक पुँजी परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै अहिलेको तरलता सङ्कटको समस्या गर्न सहयोग पुग्नेमा उनको विश्वास छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष रविना थापाले श्रमिकको सुरक्षाका लागि ल्याइएको यस कार्यक्रम महत्वपूर्ण रहेको बताइन् ।

यस्तै एनआरएनएका अर्का अध्यक्ष कुल आचार्यले वैदेशिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएपछि मलेसिया, मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने बताए ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का महासचिव चिरागमानसिंह कुँवरले अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन विशेष पहल गर्नुपर्ने बताए ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आगामी वैशाख १ देखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment