गाडी चोरी अभियोगमा दुई युवक पक्राउ

०४ चैत, भैरहवा। रुपन्देही प्रहरीले गाडी चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकाका २३ वर्षीय रिवेश गुरुङ र २४ वर्षीय विवेक परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरूले चैत १ गते बुधबार राति सिद्धार्थनगर नगरपालिका ८ अन्नपूर्ण टोलको भित्री सडक छेउमा रोकी राखेको लु १ च ७८२२ नम्बरको सामान बोक्ने गाडी (छोटाहात्ती) चोरेर लगेका थिए ।

गाडीधनी कुन्दन श्रेष्ठले बिहीबार गाडी हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो । त्यस क्रममा बिहीबार राति नालन्दा स्कुल पछाडि खाली खेतमा रोकी राखेको अवस्थामा गाडी र आरोपित फेला परेका थिए । उनीहरूलाई जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भइरहेको रुपन्देही प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो ।

१८ लाख बढीको अवैध सामान बरामद

रुपन्देही प्रहरीले १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका–७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँ बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको हो ।

मर्चवारी गाउँपालिका–४ का ३६ वर्षीय ओमप्रकाश यादवले चलाएको ग १ त ४६२५ नम्बरको ट्याक्टरलाई बनगाईमा रोकेर जाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान फेला परेको रुपन्देही प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो ।

अर्यालका अनुसार प्रहरीले बरामद गरेका सामानमा लेडिज सुट, ब्लाउजको भित्री अस्तर, धोतीको कपडा, पूजामा प्रयोग गरिने सेतो कपडा, बेल्टलगायत छन् । बरामद भएको सामान ट्याक्टर र चालकसहित कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रवक्ता अर्यालले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment