कानुन व्यवसायीले सेवाग्राहीबाट रकम लिँदा भरपाई दिनुपर्ने

०२ चैत, काठमाडौं । कानुन व्यवसायीहरूले सेवाग्राहीमार्फत् लिने कुनै पनि रकमको भरपाई दिनुपर्ने प्रावधान लागू भएको छ। नेपाल कानुन व्यवसायी परिषद्ले जारी गरेको कानुन व्यवसायीको पेशागत नियमावली २०७९ जारी गर्दै उक्त व्यवस्था लागू गरेको हो।

उक्त नियमावलीले नवोदित कानुन व्यवसायीलाई कानुन व्यवसायमा स्थापित गर्नका लागि उचित पारिश्रमिकसहितको इन्टर्नसिप तथा अनुभव निरन्तर रूपमा आदान-प्रदान गर्ने व्यवस्था गर्ने कुरालाई जोड दिएको छ।

कानुन व्यवसायीले सेवाग्राही, सहकर्मी तथा आफूसँग आवद्ध कानुन व्यवसायीप्रति सदभाव कायम राखे तथा समान र सम्मानजनक व्यवहार गर्ने कुरा समेत निमयावलीमा उल्लेख गरिएको छ।

आफूले पूरा गर्न नसक्ने जिम्मेवारीहरू बहन गर्छु भनी लिखित वा मौखिक रूपमा कसैबाट कुनै पनि जिम्मेवारी नलिने कुरामा समेत नियमवालीले प्रष्ट व्यवस्था गरेको छ।

सेवाग्राहीलाई मुद्दामा लाग्न सक्ने अनुमानित खर्च र सेवाबारेमा पूर्वजानकारी दिने, सेवा शुल्कबापत सेवाग्राहीबाट रकम यथासम्भव बैंकमार्फत् भुक्तानी लिने र भुक्तानीको भरपाई दिने व्यवस्था गर्ने तथा सेवा शुल्कको हिसाब दुरुस्त राखी लेखा परीक्षण गराई कर चुक्ता प्रमाणपत्र लिनुपर्ने उल्लेख गरिएको छ।

कानुन व्यवसायीले न्यायपालिका, न्यायाधीश, कर्मचारी तथा आफ्ना कानुन व्यवसायी सहकर्मीप्रति आघात पुर्‍याउने, आक्षेप लगाउने वा बेइज्जती गर्ने उद्देश्यले कुनै विचार वा धारणा व्यक्त गर्न वा नकारात्मक टिप्पणी गर्न नहुने व्यवस्था समेत गरेको छ।

अदालतमा विचाराधीन मुद्दाका पक्षको गोपनीयतामा प्रतिकूल प्रभाव पार्ने गरी आफ्नो राय वा विचार सार्वजनिक रूपमा व्यक्त गर्न वा लेख रचना प्रकाशित गर्न, विज्ञापन गर्न वा अन्तर्वार्ता दिन नमिल्ने लगायतको व्यवस्था नियमावलीमा गरेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment