तोकिएको समय अगावै बुझाए कर्णालीका मुख्यमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण

२१ फागुन, काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले तोकिएको समय अगावै राष्ट्रिय सतर्कता केन्द्रमा सम्पत्ति विवरण बुझाएका छन्। मन्त्री नियुक्त भएको ६० दिनभित्र सम्पति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था अनुसार भौतिक पूर्वाधार, ऊर्जा तथा खानेपानी मन्त्री मंगल शाहीले फागुन ११ मा विवरण बुझाएका हुन्।

यस्तै, सोही मन्त्रालयका राज्यमन्त्री उर्मिला विश्वकर्माले फागुन ४ गते सम्पती विवरण बुझाएकी हुन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी ‘जितेन्द्र’ले फागुन १० गते विवरण बुझाए भने आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले पनि सम्पत्ति विवरण केही दिन पहिले बुझाएका हुन्।

यस्तै, सामाजिक विकास मन्त्री टेकराज पछाईले सम्पत्ति विवरण केही दिनमा बुझाउने बताए भने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जितबहादुर मल्लले आइतबार सम्पत्ति विवरण बुझाउने भएका हुन्।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले पनि सतर्कता केन्द्रमा सम्पत्ति विवरण बुझाइसकेका हुन्।

सबै मुख्यमन्त्रीसहित मन्त्रीहरुले सम्पत्ति विवरण बुझाइसके पनि हालसम्म कुनै मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक भने गरेका छैनन्। सामान्यतया सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन भए पनि कर्णालीमा कसैले पनि सम्पत्ति विवरण सार्वजनिक भने गरेका छैनन्।

‘हामीले कानुन अनुसार सम्पत्ति विवरण बुझाउने स्थानमा बुझाइसकेका छौं,’ मन्त्री मंगल शाहीले भने, ‘त्यो पनि मन्त्री भएको दुई महिना भित्रै बुझाइसकेका छौं। म मन्त्री भएको दुई महिना पुग्न अझै समय बाँकी छ।’



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment