एमाले सचिवालय बैठक जारी

१५ फागुन, काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ। बैठक एमाले पार्टी कार्यालय च्यासलमा जारी छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का पछिल्ला कदम, राष्ट्रपतिको निर्वाचन लगायत विषयमा छलफल हुने नेकपा एमालेका एक नेताले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई जेनेभा जानबाट रोकेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। मावअधिकार परिषद्को ५२औं सभामा सहभागी हुन आइतबार साँझ जेनेभा जान लागेकी पौड्यालको भ्रमण प्रधानमन्त्री प्रचण्डले रोकिदिएका थिए।

प्रधानमन्त्री प्रचण्डले फोन गरेरै मन्त्री पौड्याललाई नजान भनेका थिए। एमालेबाट मन्त्री बनेकी पौड्याललाई नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्रीले विदेश जान रोकेका हुन्।

एमाले समेतको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २ महिनाकै अवधिमा, राष्ट्रपति निर्वाचनको सन्दर्भमा गठबन्धन फेरेका छन्। प्रचण्डको ‘सक्रियता’मा नेपाली कांग्रेस समेतको ८ दलीय गठबन्धन बनेकोप्रति एमाले रुष्ट छ।

राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। प्रधानमन्त्री प्रचण्डको दल नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस लगायतका ८ दलको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार छन्।

राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा प्रधानमन्त्रीले छुट्टै गठबन्धन बनाएपछि एमालेभित्र सरकारबाट बाहिरिनुपर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने आवाज पनि उठिरहेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment