परराष्ट्रमन्त्रीलाई रोकेर पूर्वकानुनमन्त्रीलाई जेनेभा पठाइयो

२५ फागुन, काठमाडौं । पूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्ड पठाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेर उनको ठाउँमा बन्दीलाई पठाएका हुन् ।संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन हिजो  आइतबार परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाने तयारीमा थिइन् ।

अन्तिममा आएर प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका थिए । परराष्ट्रमन्त्रीको भ्रमण रोकेर उनको ठाउँमा बन्दीसहित ३ जनालाई पठाएका हुन् । जेनेभा जानेमा बन्दीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल रहेका छन् ।

परराष्ट्रमन्त्री पौड्यालले आज पत्रकार सम्मेलन गर्दै भ्रमणको विषयमा जानकारी गराएकी थिइन् । गत साता बसेको मन्त्रिपरिषद् बैठकले समेत पौड्यालको नेतृत्वमा ५ सदस्यीय टोली जेनेभा जाने निर्णय गरेको थियो । तर, सत्ता समीकरण फेरबदल भएसँगै प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका हुन् ।

हिजो  दिउँसो मन्त्री पौड्याल त्रिभुवन विमानस्थलमा जान लाग्दा प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले फोन गरेर नजान भनेका थिए । त्यसपछि उनी रोकिएकी थिइन् ।उक्त बैठकको सत्र फागुन १५ गतेदेखि चैत १३ गतेसम्म चल्नेछ । नेपाल मानवअधिकार सुरक्षा परिषद्को सदस्य हो ।

मानवअधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल गानरी ले नेपालको मानवअधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो । नेपालको मानवअधिकार सन्तोषजनक नभएको र आयोगले राम्रोसँग काम गर्न नदिएको नसकेको भन्दै घटुवा गर्न सिफारिस गरेको थियो । मन्त्री पौड्यालले जेनेभा भ्रमणका क्रममा आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment