१२ फागुन, काठमाडौँ । वैदेशिक रोजगार विभागमा जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने भएको छ । अनावश्यक भिडभाड बढेको भन्दै विभागले सेवाग्राहीलाई सेवा लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन भनेको हो ।
विगत केही दिनदेखि विभागमा नियमित कार्यसम्पादनको सिलसिलामा पीडितको नाममा कानुन, विधि र प्रक्रिया विपरीतका कार्य गर्दै आउने गरेको भन्दै विभागले कडाइ गरेको हो ।
कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतङ्क मच्चाउने, काम गर्ने वातावरण प्रभावित गर्ने लगायतका कार्यहरू बढ्दै गएको विभागले जनाएको छ ।
यस्ता अमर्यादित कार्य एवं क्रियाकलापले गर्दा सेवाग्राहीलाई सेवा प्रवाह गर्न समस्या भइरहेको विभागको भनाई छ ।
विभागले एक एक विज्ञप्ति जारी गर्दै कार्यालयको काम कारबाहीसँग कुनै गुनासो भएमा कानुनी प्रक्रिया बमोजिम गुनासो लिएर आउन भनेको छ ।
कार्यालयको कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाई असम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा केही कडाइ गरिएको विभागको भनाई छ ।
विभागमा काम लिएर आउँदा सेवाग्राहीले आफ्नो परिचयपत्र खुल्ने कागजात लिई विभाग प्रवेश गर्नुपर्ने उनले बताए । अनावश्यक भिडभाडले कार्य सम्पादनमा निकै समस्या आएपछि यस्तो निर्णय गर्न बाध्य भएको विभागले जनाएको छ ।