सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ मा

१८ माघ, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार आयोजना गर्ने भएको छ । मञ्चको मंगलबार पोखरामा बसेको बैठकबाट अवार्ड कार्यक्रमको मिति तय गर्दै तयारी शुरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

बैठकमा मञ्चका अध्यक्ष दीनानाथ बरालले अवार्ड कार्यक्रमलाई सभ्य र भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए । ‘हामीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई उत्कृष्ट बनाउन आजबाट तयारि शुरु गरेका छौं, सबैको साथले कार्यक्रम सभ्य र भव्य बन्ने विश्वास छ’, बरालले भने ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने अध्यक्ष बरालले जानकारी दिए ।

बैठकले मञ्चका पूर्व सल्लाहकार त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गर्न लागेको अक्षयकोषमा १५ हजार रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको पौडेलले बताए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment