मोदीबारे बीबीसीले बनाएको वृत्तचित्रको भारतले गर्‍यो आलोचना

०७ माघ, नयाँ दिल्ली ( बीबीसी ) । भारत सरकारले प्रधानमन्त्री नरेन्द्र मोदी र सन् २००२ को गुजरातमा भएको साम्प्रदायिक दंगाबारे बीबीसीले बनाएको वृत्तचित्रको आलोचना गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भनेका छन्, “इन्डिया : द मोदी क्वेसन शीर्षकको वृत्तचित्रमा तटस्थता देखिँदैन र यो एक प्रोपोगान्डा मात्रै हो ।”

वृत्तचित्रको पहिलो भागको दुईवटा शृङ्खला मंगलबार बेलायतमा प्रसारण गरिएको थियो ।
बीबीसीले आफू विश्वभरिका महत्त्वपूर्ण विषयवस्तुहरूलाई प्रकाशमा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । साथै बीबीसीले भारत सरकारलाई जवाफ दिन आग्रह गरिएको तर उसले अस्वीकार गरेको पनि जनाएको छ ।

पहिलो अध्यायमा मोदीको राजनीतिमा पहिलो कदमलगायत भारतीय जनता पार्टी (भाजपा) मा उनको स्थानमा प्रगति भएर उनी पश्चिमी राज्य गुजरातका मुख्यमन्त्रीमा नियुक्त भएकोसम्मका घटनाक्रमलाई समेटिएको छ ।
वृत्तचित्रमा पहिले प्रकाशित नगरिएका तथा बीबीसीले बेलायती विदेश विभागबाट प्राप्त गरेका प्रतिवेदन सार्वजनिक गरिएको छ । गुजरातको धार्मिक दंगामा मोदीको भूमिकालाई लिएर प्रश्न उठाइएका छन् । हिन्दु भक्तजन सवार ट्रेनमा भएको आगजनीको घटनामा दर्जनौँ व्यक्तिको ज्यान गएपछि सुरु भएको हिंसात्मक साम्प्रदायिक दंगामा एक हजार भन्दा बढी मुस्लिमको ज्यान गएको थियो ।

प्रतिवेदनमा हिंसा चर्काउने दण्डहीनताको वातावरणका लागि मोदी प्रत्यक्ष रूपमा जिम्मेवार रहेको दाबी गरिएको छ । लामो समयसम्म मोदीले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गरेका थिए । साथै उनले दंगाका लागि क्षमायाचना पनि गरेका थिएनन् । सन् २०१३ मा भारतको सर्वोच्च अदालतले उनीविरुद्ध कानुनी कारबाही अघि बढाउन यथेष्ट प्रमाण नभेटिएको जनाएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment