सेयर बजार फेरि किन ओरालो लाग्यो ?

२७ पुस, काठमाडौँ । संसद बैठकमा प्रधानमन्त्रीले प्रचण्ड विश्वास पाएर सरकारको स्थायित्वबारे चर्चा भइरहँदा नेपालको एक मात्र पुँजीबजार नेप्सेमा व्यापक उतारचढाव देखियो । मंगलबार झण्डै सय अंकको उतारचढाव बेहोरेर सेयर बजार ओरालोमा अडियो । नेप्से २१७९ देखि २२७७ अंकबीचको उतारचढावमा रह्यो । ९८ अंकको फराकिलो करिडोरमा कुदेको सेयर बजार झण्डै एक महिनापछि उच्च अन्तरले घट्न पुगेको हो । पछिल्ला ११ दिनमा ३४५ अंकको छलाङ मारेको नेप्से परिसूचक मंगलबारको कारोबार २१ अंक ओर्लिएर २१९० अंकमा रोकियो । यस दिन नेप्सेले २२७७ अंकमा प्रतिरोध पायो । यो २०७८ मंसिर २७ को न्यूनतम विन्दु २२८२ अंकको नजिक छ । त्यसबेला नेप्से लगातार ६२० अंक घटेको थियो । २०७७ पुसदेखि २०७९ वैशाखसम्म १६ महिनाकै न्यून स्तरमा रहेको यही विन्दुलाई अहिले नेप्सेले प्रतिरोधको रुपमा लिएजस्तो देखिएको छ ।

२०७८ भदौ ३ मा ३२२७ अंकसम्म पुगेर ओरालो लाग्न थालेको नेप्से असार १० मा १८०७ अंकसम्म पुगेको थियो । १० महिनामा १४२० अंक अर्थात् ४४ प्रतिशतको गिरावटपछि नेप्सेले बल्लतल्ल बढ्दो क्रम समात्न पुगेको थियो । न्यूनतम विन्दुमा झरेयताका साढे ६ महिनामा नेप्से ४८० अंक अर्थात् २६ प्रतिशतले बढेको छ ।बजारले एक चौथाईभन्दा बढी आकार वृद्धि गरेपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्नु स्वाभाविक हो । अहिले पुस मसान्त आएकाले आयकरको दोस्रो किस्ता बुझाउने रकम निकाल्न पनि कतिपय लगानीकर्ताले सेयर बेचेका छन् ।

नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको खबर आएलगत्तै सेयर बजारले ऋणात्मक बाटो समातेको थियो । कतिपयले यसलाई व्यापारीको स्वार्थमा चल्ने र राष्ट्र बैंकको नेतृत्वलाई पनि प्रभावित पार्न सक्ने भनेर चिनिएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको पदीय असुरक्षासँग जोडेर समेत व्याख्या गरे र केही ठूला लगानीकर्ताले समेत सेयर बेचेर नाफा सुरक्षित गर्न खोजे । यस्ता हल्ला र अड्कलबाजीलाई प्राविधिक विश्लेषणले पनि पुष्टि गर्न खोजेको देखिएको छ ।

प्राविधिक विश्लेषणमा अहिले नेप्सेको रेखाचित्रले ‘डबल बटम’ अर्थात् अंग्रेजी अक्षर ‘डब्ल्यू’ को आकृति तयार पारेको छ । यस्तो आकृतिले बजार बढ्नका लागि तम्तयार रहेको त देखाउँछ तर नेपाली सेयर बजारले बारम्बार यस्ता चरण बिनावृद्धि गुजारिसकेको छ । यसअघि २०७५ असोजदेखि २०७६ वैशाखको बीचमा यस्तो आकृति देखिएकै हो । त्यसबेला अर्को ६ महिना लगाएर नेप्से पुनः अर्को न्यूनतम विन्दुमा झरेको थियो । अहिले पनि त्यही इतिहास नदोहोरिएला भन्न सकिन्न ।

नेप्सेले मंगलबार कारोबार रकममा भने ११ महिनायताकै कीर्तिमानी उचाइ चुमेको छ । ७ अर्ब ६५ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच हुँदा वाणिज्य बैंक र म्युचल फण्डबाहेक सबैजसो समूहका सूचक ओरालो लागेका छन् । अर्थमन्त्रीको सुरक्षा चिन्ताले मात्र सेयर घटेको हो भने केही दिनका राजनीतिक घटनाक्रमले बजारको भविष्य निर्धारण गर्नेछ । होइन भने वित्तीय सूचकहरुका आधारमा भन्दा हिजोसम्म उत्साही रहेका लगानीकर्ता एकाएक हतोत्साही हुनुपर्ने कुनै परिघटना देखापरिसकेको छैन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment