सरकार बन्ने र बदलिने कुरालाई सामान्य रुपमा लिनुपर्छ : गगन थापा

२५ पुस, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा भाग लिन नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारको स्थिरता चुनौतीको विषय भएको बताए।

उनले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गरे। निर्वाचन अगाडि एउटा गठबन्धन र निर्वाचनपछि अर्को गठबन्धनको स्वरुप भएकाले पनि सरकारको स्थिरतामा चुनौती भएको उनको भनाइ छ।

महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बद्लिने कुरालाई सामान्य रुपमा लिनुपर्ने पनि बताए।

महामन्त्री थापाले संसद्को पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधनले उनीहरूका बिचमा विग्रहको बिजारोपण भएको टिप्पणी समेत गरे।

ओलीले अघिल्लो प्रतिनिधि सभा विघटनलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन् भनेको भन्दै सो कुरा नै विग्रहको कारण बन्नसक्ने उनको भनाइ छ।

महामन्त्री थापाले सरकारले सरकारको भूमिका र प्रतिपक्षले प्रतिपक्षको भूमिका इमान्दारीतापूर्वक निर्वाह गरेमा संसद्मा कुनैपनि समस्या नआउने बताए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment