सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रमका लागि एमाले अध्यक्ष ओली बने संयोजक

१३ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुको ‘समिति’को संयोजकको जिम्मेवारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाएका छन्।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले एमाले अध्यक्ष ओलीलाई संयोजक तोकेको हो।

सत्ता साझेदार दलहरुले साझा नीति तथा कार्यक्रम निर्माणका लागि समिति बनाउने निर्णय गरेका छन्। जसका लागि समितिको संयोजक ओलीलाई तोकिएको हो। अबको ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति भएको राष्ट्रिय स्ततन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएका छन्।

प्रधानमन्त्री प्रचण्डले शपथ लिएको दिन (सोमबार) ८ सदस्यीय मन्त्रिपरिषद्‌ गठन भए पनि बाँकी मन्त्रीहरुको भने छिनोफानो भइसकेको छैन। यस्तै, प्रदेश सरकारको भागबण्डा, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायत पदको भागबण्डाका विषयमा पनि दलहरु छलफलमै छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment