लागुऔषध सेवन गरी सवारी साधन चलाउने ७ जना चालक पक्राउ

१० पुस, काठमाडौं । लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ७ जना चालक शनिबार पक्राउ परेका छन्।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्यूरो कोटश्वर र प्रहरी बृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ७ जना चालक भक्तपुरको जगातीबाट पक्राउ परेका हुन् ।

५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक गरी ७ जना चालक लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका हुन् ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एव. प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टिएचसी किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई विगत लामो समयदेखि चेकजाँच गरी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय लागुऔषध सेवन गरी सवारी साधन चलाउने चालकको संख्यासमेत बढेपछि कारबाहीलाई तीव्रता दिएको हो।

मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी साधन नचलाउनु हुन प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले चालकलाई अनुरोध गरे।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment