सुनको मूल्यले आकाश छोयो, एक तोला किन्न १ लाख ५०० रुपैयाँ खर्चनुपर्ने

२५ मंसिर, काठमाडाैं । सुनको मूल्य पछिल्लो समय निरन्तर आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्नेहरु बढ्दा उच्च मागका कारण स्थानीय बजारमा सुनको भाउ साढे एक लाख रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ १ लाख रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको भाउ पनि बढेर तोलाको १ हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अघिल्लो दिन शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँ तथा चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ, तेजावी सुनको भाउ ९८ हजार ८०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदीको भाउ ३० रुपैयाँले बढेको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको भाउ निर्धारण गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७९७ डलर र चाँदी प्रतिऔसत २३.४८ आसपासमा कारोबार भइरहेको छ ।

किन हुन्छ सुन चाँदीको मूल्य घटबढ ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको छ ।

“सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ”, अध्यक्ष शाक्यले भने ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthnepalPolitic
Comments (0)
Add Comment