माया खोला हाइड्रोको आईपीओ खुल्यो, स्थानीय र काममा विदेशीएकाले भर्न पाउने

२३ मंसिर, काठमाडाैं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गते शुक्रबार (आज) देखि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ ।

यस आईपीओमा आयोजना प्रभावित क्षेत्र संखुवासभाका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम स्थानीयले १ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नपालीहरुले अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेकोले मेरो सेयर मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ । यस्तै प्रभु क्यापिटलले निर्माण गरेको वेवसाइट मार्फत अनलाइन माध्यमबाट पनि आवेदन दिन सक्नेछन् ।

आईपीओमा आवेदन दिने समय पुस ८ गतेसम्म रहेको छ सो अवधिमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि सबै सेयर बिक्री नभए सो क्षेत्रका बासिन्दाले भने पुस २४ गतेसम्म भर्न पाउनेछन् । सबै बिक्री भए पुस ८ गते नै निष्कासन बन्द हुनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि तथा सर्वसाधारण जारी हुने सेयरको १० प्रतिशतले हुन आउने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुलाई जारी गरेको हो ।

कम्पनीले अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिकाको वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालीकाको वडा नम्बर ३,४ र ५, मादी नगरपालिकाको वडा नम्बर ४ र ६ का बासिन्दाहरुका लागि ६ हजार कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेकका स्थाई बासिन्दाहरुका लागि ४ लाख कित्ता सेयर छुट्टाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले प्रति मेगावाट २० करोड १३ लाख ४२ हजार लागतमा १४.९० क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको कुल अनुमानित लागत ३ अर्ब रुपैयाँ छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment