७ ठाउँमा जितेको रास्वपा ६ क्षेत्रमा दोस्रो, ५९ क्षेत्रमा तेस्रो शक्ति 

२१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ ठाउँमा निर्वाचन जित्यो। समानुपातिकबाट १४ गरी २१ सिटसहित संसद्‌मा जबर्जस्त उपस्थिति जनाउँदैछ।

सत्ता गठबन्धजन र एमाले तालमेलका बीच उदाएको उक्त पार्टीले दुवैलाई उछिन्न कोसिस भने ६ ठाउँमा गरेको छ। निकटमत् प्रतिस्पर्धीमा चित्त बुझाउनु नपरेको भए १३ सिट उसको पक्षमा पर्ने सम्भावना थियो।

देशका धेरै ठाउँमा तेस्रो शक्तिका रुपमा उदाएको छ। जसले आगामी दिनमा संगठन विस्तार गर्ने सहज पुग्ने देखिन्छ।

६ क्षेत्रमा निकटतम प्रतिद्वन्द्वी
सुनसरी निर्वाचन क्षेत्र १ मा जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष अशोक राईले चुनाव जिते। उनले १७ हजार ५९ मत ल्याए।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले चुनौती दिइन्। उनले १६ हजार ६ सय ६ मत पाइन्।

उक्त पार्टीले चुनौती दिएको अर्को क्षेत्र हो काठमाडौं ९। जहाँ नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर जिते। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याए।

नुवाकोट निर्वाचन क्षेत्र २ बाट नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी २८ हजार १०७ मतसहित विजयी भए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजनार ४७७ मतसहित पछ्याए।

गोरखा निर्वाचन क्षेत्र २ मा पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धनका तर्फबाट जित हासिल गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत ल्याए।

कास्की निर्वाचन क्षेत्र २ मा एमालेकी विद्या भट्टराईले १६ हजार ९९८ मत ल्याएर जितिन्। मतगणनाको क्रममा सुरुवाती अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले १२ हजार ४९५ मत पाए।

रुपन्देही निर्वाचन क्षेत्र २ मा एमालेका विष्णुरप्रसाद पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अन्तिमसम्म चुनौती दिए। विष्णुले २७ हजार १४८ मत ल्याउँदा गणेशले २५ हजार ७८२ मत पाए।

जसले जिते
ललितपुर निर्वाचन क्षेत्र ३ मा तोसिमा कार्कीले जितिन्। उनले ३१ हजार १३६ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्का१२ हजार ९६३ मतसहित निकटतम प्रतिद्वन्द्वी बने। बहालवाल ऊर्जामन्त्री पम्फा भुसाल सत्ता गठबन्धनको साथ हुँदा पनि तेस्रो बनिन्।

काठमाडौं २ मा सोबिता गौतमले १५ हजार २२९ मतसहित जितिन्। एमालेका मणिराम फुयाँल ११ हजार ५५५ मतसहित प्रतिस्पर्धामा रहे। पूर्व सभामुख ओनसरी घर्ती तेस्रो बनिन्।

काठमाडौं ६ मा शिशिर खनालले जिते। एमालेकै सर्वेन्द्र खनाल निकटतम् प्रतिस्पर्धी बने। काठमाडौं निर्वाचन क्षेत्र ७ मा गणेश पराजुलीले जिते। एमालेकै श्यामकुमार घिमिरेले प्रतिस्पर्धा गरे।

काठमाडौं निर्वाचन क्षेत्र ८ मा विराजभक्त श्रेष्ठले जित्दा हाम्रो नेपाली पार्टीका सुमन सायमीले चुनौती दिए। चितवन १ मा हरि ढकाल विजयी बने। चितवन २ मा रवि लामिछाने फराकिलो अन्तरले सांसद चुनिए।

जहाँ बन्यो तेस्रो शक्ति
राष्ट्रिय स्वतन्त्र पार्टी धेरै निर्वाचन क्षेत्रमा तेस्रो शक्ति बन्यो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएको झापा १ मा एमालेले निकटतम् प्रतिस्पर्धी रह्यो। तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी रह्यो।

यसैगरी झापा- ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग कांग्रेसका कृष्ण सिटौला प्रतिस्पर्धामा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक तेस्रो नम्बरमा रहे। झापा ४ र ५ मा समेत उक्त पार्टी तेस्रो शक्ति बनेको छ।

मोरङ निर्वाचन क्षेत्र १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा आएको छ। सुनसरीका ३ टा निर्वाचन क्षेत्रमा उक्त पार्टीले राम्रो मत पायो। एउटामा दोस्रो बन्यो भने दुईटामा तेस्रो बनेको छ। सुनसरी १ मा निकटतम् प्रतिस्पर्धी हुँदा २ र ३ मा तेस्रो बन्यो।

यस्तै, ललितपुर क्षेत्र नम्बर ३ मा जितेको उक्त पार्टी निर्वाचन क्षेत्र नम्बर १ र २ मा तेस्रो बन्यो। काभ्रेका २ वटै निर्वाचन क्षेत्रमा तेस्रो बन्यो। काठमाडौं १ मा प्रकाशमान सिंह विजेता, रवीन्द्र मिश्र फेरि उपविजेतामै सीमित रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम तेस्रो प्रतिस्पर्धी बने। काठमाडौं निर्वाचन क्षेत्र ३, ५ र १० मा तेस्रो शक्ति रास्वपा बनेको छ।

यसैगरी दोलखा निर्वाचन क्षेत्र १, नुवाकोट निर्वाचन क्षेत्र १, धादिङका २ वटै क्षेत्र, मकवानपुर निर्वाचन क्षेत्र २, चितवन निर्वाचन क्षेत्र ३ र गोरखा निर्वाचन क्षेत्र १ मा पनि तेस्रो शक्ति रास्वपा बनेको छ।

लमजुङ निर्वाचन क्षेत्र १, तनहुँ निर्वाचन क्षेत्र २, स्याङ्जा निर्वाचन क्षेत्र १ र २, कास्की निर्वाचन क्षेत्र १ र ३, पर्वत निर्वाचन क्षेत्र १, बाग्लुङ निर्वाचन क्षेत्र १ र २, नवलपरासी पूर्व निर्वाचन क्षेत्र १ र २ र पाल्पा निर्वाचन क्षेत्र २ मा उक्त पार्टी तेस्रो बन्यो।

रुपन्देही निर्वाचन क्षेत्र १, ३, दाङ १, २ र ३ बाँके ३, नवलपरासी पश्चिम १ मा पनि रास्वपा तेस्रो शक्ति बनेको छ।

झिनो मत, तर तेस्रो
कतिपय ठाउँमा झिनो मत पाएर समेत उक्त पार्टी तेस्रो बनेको छ। मनाङमा उक्त पार्टीले जम्मा ५ मत पायो, तर शक्ति भने तेस्रो बन्यो।

मुस्ताङ, सिन्धुली, गुल्मी १, अर्घाखाँची, प्युठान, सुर्खेत, म्याग्दी, कञ्चनपुर ३ र २ मा समेत उक्त पार्टी तेस्रो बनेको छ। तर, पहिलो बन्ने पार्टीसँग अन्तर भने आकाशपाताल रहेको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment