कतारमा व्यवसाय गर्ने नेपालीले छुट्टै परिचय कार्ड पाउने

१९ मंसिर, काठमाडाैं । कतारमा व्यवसाय गर्ने नेपालीले छुट्टै परिचय पत्र पाउने भएका छन् । व्यवसायीलाई नेपाल आउ जाउ गर्न सहज होस भनी छुट्टै कार्ड दिने भएको हो।

नेपाल व्यवसायी संघ कतारको अनुरोधमा सरकारले कार्ड दिने निर्णय गरेको हो । यस्तो कार्डको अवधि दुई बर्ष हुनेछ । संघले पनि चार बर्षे कार्ड उपलब्ध गराउन अनुरोध गरेको थियो ।

छुट्टै परिचय कार्ड पाएका नेपाली व्यवसायी नेपाल आएर कतार फर्कदा श्रम स्वीकृति गरि रहनु पर्दैन । उनीहरुले दुई बर्षको लागि एकै पटक राजस्व रकम भुक्तानी गर्छन् । त्यस्तै, बिमानस्थलमा सोही कार्ड पेश गरेकै आधारमा सहजै कतार उड्न सक्नेछन् ।

संघले तत्कालका लागि ६५ जना कतारमा व्यवसाय गर्दै आएका नेपालीलाई यस्तो परिचय कार्ड उपलब्ध गराउन कतार स्थित नेपाली दूतावासलाई सिफारिश गरेको छ । दूतावासले सिफारिश गरिएको व्यक्तिको प्रमाणिकरण गर्नेछ । दूतावासले प्रमाणीकरण गरेको व्यवसायीको नाम वैदेशिक रोजगार विभागमा पठाउने छ । सोही आधारमा विभागले व्यवसायीलाई परिचय कार्ड उपलब्ध गराउने छ । त्यस्तै, विभागले सो कार्ड विमानस्थलको अध्यागमन विभागमा पठाउनेछ ।

यसअघिको व्यवस्था अनुसार व्यवसायी नेपाल आउदै पिच्छे श्रम स्वीकृति गर्नुपर्ने व्यवस्था थियो । त्यस्तै, बिमानस्थलमा श्रमिकको लाईनमा बस्नुपर्ने बाध्यता थियो। जहाजको विजनेस क्लासको टिकट हुँदा पनि आफनै बिमानस्थलमा सो बमोजिमको सुविधा नपाउदा लज्जित हुनु परेको संघका अध्यक्ष महेन्द्र चौलागाईले बताए । तसर्थ संघले लामो समय देखि परिचय पत्र (व्यवसाय कार्ड) प्रदान गर्न आग्रह गदै आएको थियो ।

कतारमा साढे तीन लाख नेपाली कार्यरत छन् । जसमध्ये २०० नेपालीले कतारमा आफैले लगानी गरी व्यवसाय गर्दै आएका छन् ।

कतार सरकारको नीति अनुसार आप्रवासी नागरिकले ४९ प्रतिशत र स्थानिय नागरिकको ५१ प्रतिशत लगानीमा व्यवसाय गर्न पाउने व्यवस्था छ । कतारमा व्यवसाय गर्ने नेपालीमध्ये ९० प्रतिशतले निर्माण क्षेत्रमा लगानी गर्दै आएका छन् भने १० प्रतिशतले रेष्टुरेन्ट क्षेत्रमा लगानी गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment