राष्ट्रसंघको स्वीकारोक्तिः इथियोपियामा पर्याप्त मात्रामा सहायता पुर्‍याउन सकिएन

१३ मंसिर, एजेन्सी । विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी रहेको इथियोपियाको टिगरेमा आवश्यकताअनुसारको सहयता पुग्न नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीहरूले सो कुरा बताएका हुन्। यहाँ केही हप्ताअघि इथियोपियाली सरकार र यहाँका विद्रोहीका बीचमा शान्ति सम्झौता भएको थियो।

सो सम्झौता बमोजिम टिगरेमा मानवीय सहायता वितरणको काम सुरु भएको छ। विद्रोहीहरूले यसअघि सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले वितरण गर्दै आएको सहायता वितरणको काम पनि हुन दिएका थिएनन्।

हाल त्यहाँ सहायता वितरण गर्न दिइए पनि अहिले यहाँ आवश्यक परेजति सहायता पुग्न नसकेको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता वितरणसम्बन्धी एजेन्सी, ओचाले जनाएको हो। इथियोपियाली सरकार र टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा अघिल्लो महिना युद्धविराम भएर यहाँ गर्न पाउने शान्तिपूर्ण कार्यहरुको सम्झौता पनि भएको छ।

त्यसअन्तर्गत यहाँका नागरिकलाई आवश्यक पर्ने सहायता वितरणको काम पनि परेकाले राष्ट्रसङ्घीय निकाय र ती निकायको समन्वयमा अन्य सहायता संस्थाहरूले वितरण गरिरहेका बताइएको छ।

इथियोपियाली सरकार र सो फ्रन्टका बीचमा भएको युद्धविराम जारी छ र यसैमार्फत शान्ति स्थापनाका लागि वार्ताका माध्यमबाट पहल भइरहेको जनाइएको छ। टिगरेका कम्तीमा पनि ५० लाख मानिसलाई खाद्यान्नको आवश्यकता परेको बताइएको छ। यहाँका नागरिकलाई खाद्यान्न अभावसँगै बालबालिका कुपोषणको शिकार हुन पुगेका छन्।

संयुक्त राष्ट्रसङ्घीय बालकोषले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा टिगरेका करिब ३० प्रतिशत बालबालिका कुपोषणको शिकार भएका छन्।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment