विज्ञापनको विषयलाई लिएर एप्पल र मक्सबीच विवाद बढ्दै

१३ मंसिर, काठमाडाैं । ट्वीटरमा विज्ञापनको विषयलाई लिएर एप्पल कम्पनी र एलन मक्सबीच विवाद बढेको छ । एप्पलले ट्वीटर मार्फत गर्दै आएको विज्ञापन कम गर्दै गएको र ट्वीटरलाई एप्पल एप स्टोरबाट हटाउने धम्की दिएको एलन मक्सले बताएका छन् ।

एलन मक्सले सामाजिक सञ्जाल–ट्वीटर ४४ अर्ब डलरमा अधिग्रहण गरेका थिए । त्यस लगत्तै उनले विज्ञापन निर्भर रहेको ट्वीटरको आय नीति परिवर्तन गरी प्रयोगकर्ताहरुबाट ५० प्रतिशत र विज्ञापनबाट ५० प्रतिशत आम्दानी गर्ने नीति बनाएका थिए ।

यसै नीतिका आधारमा आइडी प्रमाणीकरण भएका वा ब्लु टिक भएका प्रयोगकर्ताहरुले मासिक रुपमा ८ डलर भुक्तानी गर्नुपर्ने नियम ट्वीटरले बनाएको थियो ।

एप्पल ट्वीटरको सबैभन्दा ठूलो विज्ञापनदाता रहेको छ । एलन मक्सले ट्वीटर अधिग्रहण गर्नुअघि एप्पलले सन् २०२२ को पहिलो त्रैमासमा मात्रै ४ करोड ८० लाख डलर बराबरको विज्ञापन गरेको वासिङ्टन पोस्टले जनाएको छ । तर मक्सले ट्वीटर खरिद गरेपछि एप्पलले विज्ञापनको सङ्ख्या घटाएको छ । एप्पलको मिडिया एजेन्सी ओमनीकमले एप्पलको ब्रान्ड सुरक्षाका कारण सिलिकन भ्यालीमा अवस्थित सामाजिक सञ्जालमा विज्ञापन नगरेको जनाएको छ ।

ट्वीटरमा ट्वीट गर्दै मक्सले एप्पलले ट्वीटरलाई एप स्टोरबाट हटाउने धम्की दिएको बताएका छन् । एप्पल नै सबैभन्दा ठूलो विज्ञापनदाता र एप्पलकै एप स्टोरमा ट्वीटर रहेको हुँदा एप्पलले एपस्टोरबाट ट्वीटरलाई हटाउँदा ट्वीटरलाई ठूलो नोक्सानी हुने देखिन्छ ।

यसैगरी एपस्टोरमा ट्वीटर राख्दा मात्रै एप्पलले ट्वीटरबाट भारी रकम उठाउन सक्छ । यदि ट्वीटरले आइडी प्रमाणीकरण गरेका प्रयोगकर्ताहरुबाट मासिक रुपमा ८ डलर शुल्क लिन्छ भने उक्त रकमको १५–३० प्रतिशत रकम एप्पलले लिन सक्ने प्रावधान रहेको छ ।

पछिल्लो समयमा एप्पल बाहेकका अन्य विज्ञापनदाताहरुले पनि ट्वीटरमा विज्ञापन गर्न कम गरेका छन् । अटोमेकर फोक्सवागन र चेरियोस मेकर जेनेरल मिल्सले पनि ट्वीटरमा विज्ञापन घटाउँदै गएको बीबीसीमा उल्लेख छ ।

यसैगरी मिडिया म्याटर्स नामक वाचडक वेबसाइटका अनुसार, केही साता यता ट्वीटरका मुख्य विज्ञापन दाताहरुले विज्ञापन सङ्खया कम गर्दै गएको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment