यशोदा फुड्सले करेन्ट चाउचाउको बिक्रीबाट कमायो झण्डै साढे ३ अर्ब

२८ कात्तिक, काठमाडाैं । ‘करेन्ट’ ब्रान्ड नामबाट चाउचाउको बिक्री गर्दै आएको यशोदा फुड्सले सन् २०२२ मा ३ अर्ब ४३ करोड ८० लाख आम्दानी गरेको छ ।

सन् २०१७ मा स्थापना भएको उद्योगले छोटो समयमा नै राम्रो आम्दानी गर्न सफल भएको हो । कम्पनीले सन् २०१७ देखि २०२१ सम्म वार्षिक आम्दानीमा २८ प्रतिशत वृद्धि गर्दै गइरहेको छ ।

सन् २०२१ मा परिष्कृत २ अर्ब ६६ करोड ६० लाख आम्दानी गरेको यशोदा फुड्सको सञ्चालन आम्दानी २९ प्रतिशतले वृद्धि भएर ३ अर्ब ४३ करोड ८० लाख पुगेको छ ।

युवापुस्ताको पहिलो रोजाइमा पर्ने करेन्ट चाउचाउको माग बजारमा व्याप्त रहेको छ । नेपालमा स्पाइसी चाउचाउको बजार नै नभएको समयमा यशोदा फुड्सले कोरियन रामेनको शैलीमा विभिन्न स्वादको स्पाइसी चाउचाउको उत्पादन गर्दै आइरहेको छ । युवापुस्ताको रोजाइ बनेको करेन्टको स्थीर माग, जोखिम मुक्त फाइनान्सीयल प्रोफाइल र अनुभवी प्रमोटरका कारण पनि यशोदा फुड्सको सञ्चालन आम्दानीमा वृद्धि भइरहेको छ ।

तर बजारमा स्पाइसी चाउचाउ उत्पादन गर्ने कम्पनीहरु पछिल्लो समयमा बढ्दै गएका छन् । स्थापित कम्पनी सीजीले पनि पछिल्लो समयमा स्पाइसी चाउचाउको उत्पादन सुरु गरेको छ । बढ्दो प्रतिस्पर्धा यशोदा फुड्सको चुनौती रहेको छ ।

यशोदा फुड्सले चाउचाउ उत्पादनका लागि आवश्यक पर्ने गहुँको पीठो, पाम आयल, पाल्मोलेन जस्ता कच्चा पदार्थहरु आयात गर्ने गरेको छ । कच्चा पदार्थको मूल्यमा आएको वृद्धि र सरकारले आयातमा नियन्त्रण गर्दै विभिन्न नियमहरु अघि सारिरहेको छ । यसका साथै बढ्दो मुद्रास्फीति नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकले ब्याजदर बढाइरहेको छ ।

ब्याजदर वृद्धि, अन्तराष्ट्रिय विनिमय बजारमा नेपाली रुपैयाँ कमजोर हुँदै जानु, सरकारले अघि सारेका नियमन नियमहरु पनि कम्पनीका चुनौतीहरु रहेका छन् ।

रुपन्देहीमा रहेको कम्पनीको प्लान्टले प्रति वर्ष २० हजार मेट्रिक टन उत्पादन गर्दै आएको छ । निर्माण, प्याकेजिङ, स्पाइस, रियल स्टेट लगायतका विभिन्न क्षेत्रमा लामो अनुभव बटुलेका चुन्ना प्रसाद शर्मा यशोदा फ्ड्सको अध्यक्ष रहेका छन् ।

यस वर्षका लागि १ अर्ब ४ करोड ९३ लाख दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि केयर रेटिङले ट्रिपल बी र ए३ प्लस रेटिङ गरेको छ । २९ करोड ९३ लाख ४० हजार बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी र ७५ करोड बराबरको अल्पकालीन ऋणका लागि ए३ प्लस रेटिङ केयर रेटिङ्सले गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment