वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रस्तुत गरे एमालेलाई मत दिनुपर्ने पाँच कारण 

२५कात्तिक, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेलाई मत दिनुपर्ने पाँच कारणबारे जानकारी गराएका छन्।

वागमतीस्तरीय सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक स्थायित्वका लागि बलियो पार्टी आवश्यक हुने भएकाले त्यस्तो बलियो पार्टी एमाले मात्र भएको दाबी गरे।

यस्तै उनले राष्ट्रहितको कुरा एमालेले मात्र गर्ने दाबी पनि गरे। चुच्चे नक्सादेखि नागरिकतासम्ममा एमाले देश हितका लागि बोलेको उनको भनाइ थियो।

यस्तै देशमा सुशासन कायम गर्नका लागि पनि एमालेले यसपटकको चुनावमा बहुमत ल्याउनुपर्ने पोखरेलले दाबी गरे। भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्न भन्ने नारा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजिनक गरेको र त्यो नारा एमालेले मात्र कार्यान्वयन गर्न सक्ने उनले जिकिर गरे।

जनतालाई सेवा दिने काममा गठबन्धनले कुनै काम गर्न नसकेको भन्दै उनले अदालतलाई समेत ध्वस्त पारेको आरोप लगाए। उनले देश समृद्धिको अभियानलाई चौथो कारण भनेका छन्। आर्थिक समृद्धिका लागि पनि एमालेललाई मतदान गर्नुपर्ने दाबी गरे।

नाकाबन्दीको समयमा जनताले भोगेको पीडालाई बोध गर्दै घर–घरमा ग्यास पुर्‍याउने लक्ष्यका साथ केपी ओली नेतृत्वको सरकारले दैलेखमा ग्यास उत्खननको कामसमेत सुरु गरेको जानकारी गराए। यस्तै अस्पतालदेखि सडक निर्माणासम्मका काम एमालेले थालनी गरेकाले ती पूरा हुन पनि आगामी निर्वाचनमा एमालेले बहुमत पाउनुपर्ने पोखरेलले बताए।

यस्तै उनले पाँचौ कारणमा सामाजिक सुरक्षालाई प्रस्तुत गरेका छन्। जनताको सामाजिक सुरक्षालाई एमालेले मात्र सुनिश्चित गर्न सक्ने दाबी गरे। एमाले नेतृत्वको सरकारमा प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले एकसय रुपैयाँबाट सुरु गरेको भत्ता अहिले पाँच हजार पुगेको बताए।

यस्तै उनले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताएका छन्। उत्पादनसँग जोडिन नसकेको खण्डमा समस्या उत्पन्न हुने उनको भनाइ छ। सहकारीमा नियमनको अभाव रहेको बताए। एमालेले आगामी दिनमा सहकारीलाई व्यवस्थित बनाएर लैजाने दाबी गरे।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment