आर्थिक गतिविधि सुस्ताउँदा राजश्व संकलन प्रभावित

२२कात्तिक, काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको विभिन्न तथ्याङ्कले सरकारको लक्षित कर राजश्व संकलन नराम्रोसँग प्रभावित हुने देखाएको छ । आयातमा आएको गिरावट, घरजग्गा लगायत विभिन्न व्यवसायमा आएको शिथिलताले राजश्व संकलनको गति सुस्ताउँदै गएको देखिन्छ ।

चालु अबका लागि बजेट वक्तव्य मार्फत १४ खर्ब ३ अर्ब रुपैयाँ राजश्व लक्ष्य मध्ये कर राजश्व १२ खर्ब ९५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य छ । तर अघिल्ला आर्थिक वर्षको आँकडा अनुसार कर संकलन यो वर्ष अझै चुनौतिपूर्ण बनेको देखिएको छ ।

राजश्वका प्रमुख स्रोत भन्सार राजश्व आयात निर्यात खस्कँदा र घरजग्गा कारोबार सुस्ताउनुले सरकारलाई राजश्व संकलन फलामकै च्युरा सरह बन्ने देखिएको छ ।

बढ्नु पर्ने कर राजश्व झनै खुम्चदै

महालेखा नियान्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन भदौ र असोजमा वार्षिक लक्ष्य १२ खर्ब ९५ अर्ब को १४.३२ प्रतिशतमात्र कर राजश्व संकलन हुँदा १ खर्ब ८५ अर्ब रुपैँयाँ सरकारी कोषमा प्राप्त भएको छ ।

जवकी आव ०७८/७९को पहिलो तीन महिनामा लक्षित कर राजश्व १० खर्ब ६७ अर्ब को २१.४५ प्रतिशत संकलन हुँदा २ खर्ब २९ अर्ब रुपैयाँ कर राजश्व प्राप्त भएको थियो । कर राजश्वको लक्ष्यमा भएको बृद्धि अनुसार कर संकलन परिमाण र प्रतिशत दुबैले खस्कनु देशको वित्तीय स्वास्थ्यका लागि घातक मानिन्छ ।

भन्सारमा पनि निरासा

कर संकलनको निरासाजनक तस्वीर भन्सार विभागको तथ्याङ्कले पनि देखाउँछ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा आयात ७३ प्रतिशत र निर्यात १०९ प्रतिशतले बढेको थियो । यसले गर्दा सो अवधिमा आयातबाट मात्रै १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ भन्सार राजश्व प्राप्त भएको थियो ।

तर अहिले अवस्था निरासाजनक छ । आयात १६.२ प्रतिशतले घटेको छ भने निर्यात ३५.७ प्रतिशतले घटेको छ । यसबाट आयातमा संकलन हुने राजश्व ९६ अर्ब ६१ करोड रुपैयाँमा सिमित भएको छ ।

नेपालको चुलिदो आयात खस्कनु मुलुकको अर्थतन्त्रका लागि सकारात्मक र अपेक्षाकृत नै हो । खास गरी विदेशी मुद्रा सञ्चतिमा तीव्र गिरावट आएपछि चारपांग्रे सवारी साधन र मंहगा मोबाइल आयात निषेध नै गरेको हो । तर यसले राजश्व संकलनलाई गम्भिर असर पारेको छ।

राजश्वको तस्विरमा घरजग्गाको छाँया

राजश्वको तस्बिरमा अर्को डरलाग्दो छाँया घरजग्गा कारोबारले पारिरहेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा २३ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ घरजग्गा कारोबारबाटै सरकारले राजश्व प्राप्त गरेको थियो । तर चालु आवमा यो रकम ८ अर्ब ८७ करोड रुपैयाँमा सिमित भएको छ । जबकी ०७८ असोजमा मात्रै ७ अर्ब ३६ करोड रुपैयाँ संकलन भएको थियो । ७९ असोजमा २ अर्ब ५६ करोड रुपैयाँमात्रै सरकारले घरजग्गा कारोबारबाट प्राप्त गरेको छ ।

लगानीयोग्य पुँजीको अभावमा बैंक तथा वित्तीय संस्थाले घरजग्गामा लगानी निरुत्साहित गर्दै जानु र सरकारले पनि भुउपयोग नियमावली कार्यान्वयनमा ल्याउँदा घरजग्गा कारोबार निस्तेज भएको छ । नयाँ व्यवस्था अनुसार स्थानीय निकायले आफ्नो क्षेत्रको जग्गाको वर्गिकरण गरेरमात्रै नयाँ कित्ताकाट गर्न पाउने व्यवस्था गराएकाले पनि घरजग्गा कारोबार ठप्प प्राय भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment