निर्वाचन आयोगले बन्द गर्न निर्देशन दिएको ‘नो नट अगेन’ ट्वीटर र फेसबुकको ट्रेन्डिङमा

११ कार्तिक, काठमाडौं । “पटक-पटक फेल भइसकेका” नेताहरूबाट “फेरि शासित हुन नपरोस्” भन्दै सामाजिक सञ्जालमा सुरु भएको ‘नो नट अगेन’ अभियानलाई कारबाहीको चेतावनी दिने निर्वाचन आयोगको निर्णयप्रति सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त भइरहेका छन्।

निर्वाचन आयोगले बन्द गर्न निर्देशन दिएको ‘नो नट अगेन’ अभियान उल्टै फेसबुक र ट्वीटरको ट्रेन्डिङमा देखिएको छ । पुराना नेताहरूलाई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट पराजित गराउने उद्देश्य सहित सामाजिक सञ्जालमा सुरु भएको यो अभियान झनै लोकप्रिय बनेको हो ।

आयोगले निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै उक्त नाम गरेका पेज तथा ग्रुप बन्द गराउन मङ्गलबार निर्देशन दिएको थियो । उक्त निर्देशन पछि यो सामाजिक सञ्जालमा थप चर्चाको विषय बनेको छ ।

आयोगको निर्देशनको विरोध गर्दै विभिन्न व्यक्तिहरूले अहिले ‘नो नट अगेन’को समर्थन गरिरहेका छन् । विशेषगरी ट्वीटर र फेसबुकमा यसबारे बढी चर्चा भएपछि फेसबुकको पपुलर नाउ र ट्वीटरको ट्रेन्डिङमा ‘नो नट अगेन’ परेको हो ।

यतिखेर सामाजिक सञ्जालमा निर्वाचन आयोगको आलोचना र ‘नो नट अगेन’को समर्थनमा थुप्रै नयाँ पोस्टहरू आइरहेका छन् । आयोगले अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको भन्दै चर्चित व्यक्तिहरूले समेत त्यसको विरोध गरेका छन् ।

पूर्व सूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले ‘नो नट अगेन’ भन्ने विचार लोकतान्त्रिक मूल्य र मान्यता सङ्गत भएको भन्दै आयोगको निर्देशन युक्तिसङ्गत नभएको तर्क राखेका छन् ।

त्यस्तै नेकपा एमालेका नेता भिम रावलले, “कसैलाई मतदान गरौँ वा नगरौँ भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला?” भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा ‘नो नट अगेन’ को बढी समर्थन भइरहेको देखिन्छ । यसमा नाम जोडिएका प्रायः नेताहरूले खासै चासो देखाएका छैनन् ।

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने यसमा विरोध जनाएका छन् । स्वेच्छाले निर्वाचनमा भाग नलिएको व्यक्तिको नाम जोड्न नहुने उनको तर्क छ ।



मल्टिमिडिया ग्यालरी

#nonotagainbusinessCoronavirusCovid-19digital khabarLockdownnepalNewsnonotagainPolitic
Comments (0)
Add Comment