ह्वाट्सएपको सेवा पुनः सञ्चालनमा

०९ कार्तिक, काठमाडौं । मंगलबार विश्वका धेरै देशमा ह्वाट्सएपको सेवा करिब डेढ घण्टा बन्द भएको थियो। जानकारीका अनुसार ह्वाट्सएपले दिउँसो करिब १२.४५ बजे काम गर्न बन्द गरेको थियो। करिब डेढ घण्टा बन्द रहेपछि दिउँसो करिब सवा २ बजे पुनः सञ्चालनमा आएको थियो।

धेरै देशका प्रयोगकर्ताहरूले मेटा-स्वामित्वको मेसेन्जर सेवामा अवरोध भएको गुनासो गरेका थिए। वेबसाइट ट्र्याकर डाउन डिटेक्टरले मेसेन्जर सेवामा समस्या भएको जानकारी दिएको थियो।

ह्वाट्सएपले काम नगरेको खबर ट्विटरमा पनि ट्रेन्डिङ हुन थाल्यो। व्हाट्सएपको विश्वव्यापी मासिक २ अर्ब भन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन्।

ह्वाट्सएपको कम्पनी मेटाका प्रवक्ताले टेकक्रन्चसँगको कुराकानीमा केही प्रयोगकर्ताहरूले ह्वाटस्एपबाट मेसेज गर्न समस्या भइरहेको जानकारी भएको र यो समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएका थिए।

ह्वाट्सएपले आउटेजको कारण साझा गरेन, तर यो समस्या समाधान गरेको पुष्टि गर्यो। “हामीलाई थाहा छ आज मानिसहरूलाई ह्वाट्सएपमा सन्देशहरू पठाउन समस्या भएको थियो। हामीले समस्या समाधान गरेका छौं र कुनै पनि असुविधाको लागि माफी चाहन्छौं,” मेटा प्रवक्ताले भने।

यसअघि ४ अक्टोबर २०२१ मा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप प्लेटफर्म करिब ६ घण्टा बन्द भएकाले अर्बौं प्रयोगकर्ताले समस्या भोग्नुपरेको थियो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment