मत सर्वेक्षण गरे कानुनी कारबाही गर्ने आयोगको चेतावनी

२७ असाेज, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर मत सर्वेक्षण गर्न नपाउने निर्वाचन आयोगले बताएको छ। आयोगका सहप्रवक्ता कमल भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्।

आयोगले अनुगमन गर्दा मत सर्वेक्षण गरेको पाइएकोले उक्त कार्य नगर्न आयोगले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ। ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता, २०७९ लागू भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ,’ आयोगले बताएको छ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ,’ आयोगले कानुनी व्यवस्थाबारे उल्लेख गरेको छ।

आयोगले आफ्नो अनुरोधलाई बेवास्ता गर्दै कसैले मत सर्वेक्षण गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। ‘उपरोक्त व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ आयोगले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepal
Comments (0)
Add Comment