जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

१५ असाेज काठमाडाैं  राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही हिमाली जिल्लाहरूमा जान हवाईजहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन् ।

नेपालगन्ज विमानस्थलबाट हुम्ला, डोल्पालगायत हिमाली जिल्लाहरूमा जान जहाजको टिकट नपाउँदा दसैँ, तिहार मनाउन घर फर्कन लागेका विद्यार्थीलगायत व्यक्तिहरू अलपत्र परेका हुन् ।

जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान–बस्नका लागि अब पैसा नभएकाले कसरी बाँच्ने भन्ने चिन्ता थपिएको यात्रुको गुनासो छ । निजी एयरलाइन्सका हवाईजहाजले आफूखुसी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेहरूलाई टिकट दिने गरेको उनीहरूको आरोप छ ।

नेपाल एयरलाइन्सले हाल नेपालगन्जबाट हप्तामा दुई दिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ ।

निजी विमान कम्पनीहरूले हिमाली तथा पहाडी जिल्लामा उडानमा कमी ल्याएपछि हवाईयात्रुलाई समस्या भएको हो । नियमित उडानका लागि सम्बन्धित निकायले नियमन गर्न जरुरी देखिएको सर्वसाधारण बताउँछन् ।

आम सर्वसाधारणको गुनासो कसैले नसुन्ने र काठमाडौंबाट नेताहरूको पहुँचमा भएका व्यक्तिहरूले मात्र जहाजको यात्रा गर्न पाइरहेको गुनासो गर्छन्, डोल्पाका चन्द्रखड बुढा । उनले नेताहरूले आफ्नो पहुँचमा भएकालाई फोन गरेर पठाउने गरेको तर आम सर्वसाधारण जनता नेपागन्जमै हप्तौँ बसिरहनुपरेको बताए । बिरामी व्यक्तिलाई समेत घर फर्कनका लागि टिकट नदिइएको उनको भनाइ छ ।

हुम्लाका धनभक्त बुढाले विकट क्षेत्रमा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पालगायत जिल्लामा उडान गर्न आनाकानी गर्ने गरिएको बताए । उनले आफू दुई हप्तासम्म होटेलमा बस्दा समेत टिकट नपाएको गुनासो गरे ।

नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा गाउँ फर्कनेहरूको चाप बढेका कारण टिकट पाउन मुस्किल भएको विमान सञ्चालक कम्पनीहरूको भनाइ छ । दुर्गम जिल्लाहरूमा सडक सेवा विस्तार नहुँदा विमानबाट नै यात्रा गर्नुपर्ने भएका कारण यो समस्या आएको उनीहरू बताउँछन् ।

नेपालगन्ज विमानस्थलबाट हुम्ला र डोल्पाका लागि उडान भर्ने जहाजहरू कम भएका कारण स्थानीयलाई घर पुग्न समस्या भएको हो । जहाजको टिकट नपाएपछि नेपालगन्जमा सयौँ हवाईयात्रु अलपत्र परेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment