भारतमा ल्यापटप बनाउन करोडौं डलर प्रोत्साहन दिईने

१५ असाेज, काठमाडौं । भारतमा केन्द्र सरकारले देश भित्र ल्यापटप र ट्याब्लेट उत्पादन गर्ने कम्पनीहरूलाई आर्थिक प्रोत्साहन दिने योजना बनाएको छ। यी कम्पनीहरूमा एप्पल र डेल समावेश छन्। यसले यी कम्पनीहरूको उत्पादन आधारको रूपमा चीनसँग प्रतिस्पर्धा पनि गर्नेछ।

आयात घटाउनका लागि भारतले ल्यापटप र ट्याब्लेटको उत्पादन बढाउँदै मुलुकलाई दीर्घकालीन निर्यात हब बनाउन चाहेको बताइएको छ।

भारतीय सूचना प्रविधि मन्त्रालयले यसका लागि पहिल्यैदेखि रहेको योजना परिमार्जन गर्दै इलेक्ट्रोनिक्स कम्पनीका कार्यकारीसँग सुझाव मागेको छ । यसमा प्रति कम्पनी ५० करोड डलरभन्दा बढीको इन्सेन्टिभ समावेश हुन सक्ने यस विषयमा जानकार स्रोतले बताएको ब्लूमबर्ग न्यूजले उल्लेख गरेको छ।

यो योजनाले एप्पल, डेल, एचपी र असुसलाई भारतमा उत्पादन विस्तार वा सुरु गर्न आकर्षित गर्ने लक्ष्य राखेको छ। सरकारले विशेष गरी एप्पललाई देशमै आईप्याड उत्पादन गर्न प्रोत्साहन गर्न चाहन्छ। कम्पनीले आफ्नो ताइवानी आपूर्तिकर्ताहरू मार्फत भारतमा आईफोन एसेम्बल गरिरहेको छ।

ब्लूमबर्ग न्यूजले देखेको सरकारी कागजातले प्रति कम्पनी भारु ४,५०० करोडको प्रोत्साहन प्रस्ताव गरेको छ। तर, यसका लागि गत मार्चसम्मको खर्चबाहेक विदेशी कम्पनीले पाँच वर्षमा कम्तीमा सात सय करोड भारतीय रुपैयाँ लगानी गर्नुपर्नेछ।

प्रोत्साहनहरू यी कम्पनीहरूले खरिद गर्ने स्थानीय कम्पोनेन्टहरूमा निर्भर हुनेछ र तयार उत्पादनहरूको बिक्रीको लगभग ६ प्रतिशतसम्म हुन सक्छ। तर, उद्योगसँगको परामर्शपछि यो योजना परिवर्तन गर्न सकिने समाचारमा उल्लेख छ।

गत वर्ष, ल्यापटप, ट्याब्लेट र व्यक्तिगत कम्प्युटरहरू जस्ता आईटी उत्पादनहरूको उत्पादन र निर्यात बढाउनको लागि ७,३५० करोडको योजना सुरु गरिएको थियो। तर, कम प्रोत्साहनका कारण यी कम्पनीहरूले चासो दिएका थिएनन् ।



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarLockdownnepalNews
Comments (0)
Add Comment