देश छाडेर भाग्नेको लहर बढेपनि रुसले सिमाना खुलै छाड्यो

११ असाेज, एजेन्सी । क्रेमलिनले युक्रेनी युद्धलाई मध्यनजर गर्दै आंशिकरुपमा सैन्य परिचालनको घोषणा गरेपछि सैन्य सेवामा लाग्ने उमेरका युवाहरु देश छाडेर भाग्ने क्रम बढेको छ । यसलाई रोक्न रुसको सिमाना सिल गर्ने चर्चामाझ रुसी सरकारले भने त्यस्तो कुनै निर्णय नभएको बताएको छ ।

सीमा सिल गरिने सम्भावनाबारे सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ,‘ मलाई यसबारे केही थाहा छैन । हाल, यसबारे कुनै निर्णय गरिएको छैन ।’ राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता देशका लाखौं रिजर्भ बललाई युद्धमा परिचालन गराउन आदेश दिएपछि नै रुसी सिमा बन्द हुने हल्ला चलेको थियो ।

यस्तो हल्ला माझ हतारमा देश छाड्नेको संख्या बढ्दा रुसबाट बाहिरिने उडानहरूका सबै टिकट बिक्री भइसकेका छन् भने सीमा चौकीहरूमा कारको लामो लाइन लागेको छ ।

रुसबाट बाहिरिन भिषा नलाग्ने जर्जियातर्फको एक मात्र सडक सीमामा ४८ घण्टा लामो लाईन कुरेर देश छाड्ेनहरु पनि भेटिएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । जर्जिया पश्चिम समर्थक मुलुक भएर पनि छिमेकी रूसी नागरिकहरूलाई भिसा बिना प्रवेश दिने थोरै मुलुकमध्ये एक हो । कजाकस्तान र मंगोलियासँगका सीमानामा सिन कारहरूको लामो लाइन लागेको छ ।

रुसी राजनीतिक–वृत भने उमेर पुगेकाहरुलाई देश बाहिरिन रोक्नुपर्नेे माग उठ्न थालेको छ । ‘सेनामा भर्ती हुने उमेर समुहका सबैलाई वर्तमान अवस्थामा विदेश यात्रामा प्रतिबन्ध लगाउनुपर्छ ,’ रुसको कब्जामा रहेको क्राइमिया क्षेत्रबाट रुसको माथिल्लो सदनका लागि सांसद सर्गेई त्सेकोभले भने ।

विदेशबाट संचालित हुने रुसी न्युज–पोर्टल मेदुजा र नोभाया गजेटा युरोपले अज्ञात अधिकारीहरूलाई उद्धृत गर्दै ‘रुसी पुरुषहरूलाई देशबाहिर जान प्रतिबन्ध लगाउने योजना बनिरहेको’ समाचार प्रकाशित गरेको थियो ।

क्रेमलिनले रिजर्भ बललाई युक्रेन युद्धमा पठाउने निर्णय गरेपछि रूसमा व्यापक त्रास र क्रोध देखिएको पश्चिमी मिडियाले लेखेका छन् । रुसी सरकारले पनि यस्तो अवस्था स्वीकारे पनि तिनलाई बढाई चढाई गरिएको बताएको छ ।
रुसले दोस्रो विश्वयुद्धपछि पहिलो पटक यस्तो खासको सैन्य परिचालनको घोषणा गरेको हो । त्यसकारणले पनि सरकार र जनता दुवै तर्फ एक खालको अन्यौलता देखिन्छ ।

पुटिनको सैन्य परिचालनको घोषणा लगत्तैपछि रुसी नियन्त्रणमा रहेका युक्रेनी प्रान्तलाई रुसमा गाभ्न जनमत–संग्रह सुरु भएको छ । पश्चिमले यस जनमत संग्रहको परिणाम पहिले नै रुसको पक्षमा आउने निश्चित भएको भन्दै यसलाई नमान्ने बताइसकेको छ ।

सैन्य परिचालनको आह्वानपछि रूसमा युक्रेन युद्ध सुरु भएदेखि पहिलो पटक ठूलो र लामो विरोध प्रदर्शन भएको छ । एक अनुगमन समूहको अनुमान अनुसार यी विरोध प्रदर्शनमा कम्तिमा २,००० मानिसहरु पक्राउ परेका छन् । रुसमा युक्रेन युद्धबारे सार्वजनिक आलोचना गर्न प्रतिबन्ध छ । त्यस्तो कार्यमा संलग्नहरुलाई दण्ड सजायको व्यवस्था छ ।

पेस्कोभले सैन्य परिचालन आह्वानमा केही गल्ती भएको स्वीकार्दै क्षेत्रीय गभर्नरहरू र रक्षा मन्त्रालयले तिनलाई सच्याइरहेको बताए । विशेष धेरै ठाँउमा अशस्त्र र सैन्य काममा संलग्न हुन नसक्ने पेसाका मानिसहरुलाई पनि परिचालनको लागि पत्र पठाइएको पाइएको छ ।

रुसको मुख्य सरकारी टेलिभिजन च्यानलको टक शोमा, क्रेमलिन समर्थक टिप्पणीकारहरूले नै गलत मानिसहरूलाई सैन्य परिचालनका लागि बोलाउने अधिकारीहरूलाई कडा सजायको माग गरेका छन् । यस्ता कृयाकलापले आतंक सिर्जना गरेको उनीहरुको तर्क छ ।

रसियाले लाखौं पूर्व भर्तीलाई आधिकारिक रिजर्भिस्टको रूपमा गणना गर्दछ । अधिकारीहरूले ठ्याक्कै कसलाई बोलाइनेछ भनेर उल्लेख गरेको छैन । पुटिनको घोषणाको त्यो हिस्सालाई गोप्य राखिएको छ ।
तथापि सरकारी बेवसाइटमा भने भर्खरको सैन्य अनुभव भएका झण्डै ३ लाख मानिसहरुलाई परिचालन गर्ने उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment