काठमाडौं-८ मा स्वतन्त्रहरुको आँखा, सुमन सायमीपछि विराजभक्तको घोषणा

०३ असाेज, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या बढ्दै छ। सुमन सायमीपछि विराजभकक्त श्रेष्ठले उक्त निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेका छन्।

विवेकशील साझाका तर्फबाट पूर्व बागमती प्रदेश सांसद श्रेष्ठले सोमबार सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गरेका हुन्।

उनले आफ्नो उम्मेदवारी सुशासन, समृद्धि र सुसंस्कृत राजनीतिको निम्ति रहेको बताएका छन्। पर्यावरणीय हितसहितको राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाको लागि आफू मैदानमा आएको उनले उल्लेख गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन्, ‘हाम्रो उम्मेदवारी दक्ष, अदक्ष, अर्धदक्ष सबै युवाको विदेश पलायनको समस्या समाधानको प्रयासको निरन्तरताका लागि हो, कृषिलाई विज्ञान र प्रविधिमा आधारित गराएर औद्योगिकीकरण गराउनको निम्ति हो।

नेपालमा उत्पादन हुने सबै कुरामा आत्मनिर्भरता तथा बाह्य क्षेत्रसँगको व्यापार सन्तुलनको लागि हो, नेपालको अखण्डताको रक्षा गर्ने निर्विकल्प उपाय–आत्मनिर्भर अर्थतन्त्रको लागि अल्पकालीन र दीर्घकालीन योजनाको निम्ति हो। हाम्रो उम्मेदवारी राजनीति सँगसँगै समाज रूपान्तरणको निम्ति हो।’

आफू प्रदेश सभा सदस्य हुँदा गरेका काम पनि उल्लेख गरेका छन्। भनेका छन्, ‘सुसंस्कृत र पारदर्शी राजनीति तथा नागरिकहरूप्रति जवाफदेहीता र जनउत्तरदायित्वको अभ्यासका अंशकोरूपमा हरेक वर्ष हामीले सदनभित्र र सदन बाहिर गरेका मुख्य महत्त्वपूर्ण कार्यहरूको प्रतिवेदन सार्वजनिक गरेका थियौं, जुन नेपालको संसदीय इतिहासमै नवीनतम अभ्यास थियो।’

सडकको व्यवस्थापन र सुरक्षामा सुधार गर्नु पनि विकासको एउटा पाटो हो भन्ने आफ्नो बुझाइलाई टंकेश्वर–परोपकार रुटमा ट्राफिक लाइटको लागि प्रदेश स्तरबाट पहल गरेको उनले बताएका छन्।

गुठी विधेयक विरुद्धको आन्दोलन, इनफ इज इनफ लगायत विभिन्न नागरिक स्तरको अभियानहरूमा अग्रपंक्तिमा नेतृत्वदायी भूमिकामा संलग्न भएको जनाएका छन्।

यसैगरी पर्यावरण र सांस्कृतिक सम्पदाको संरक्षणको निम्ति सडक र सदन दुबैबाट विशेष महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताउँदै हालै सम्पन्न भएको ‘वंघ चुक: (इन्द्रचोक)’ र ऐतिहासिक ‘वंघःदवू’ को पुनर्निर्माणका लागि विशेष पहल गरेको पनि उल्लेख गरेका छन्।

‘प्रधानमन्त्री जुद्ध शमशेरबाट नयाँ सडक बनाउने क्रममा नौ दशकदेखि मासिएको ऐतिहासिक डबली ब्यूँताउन सफल हुनु र देवी नाच सम्पन्न गराउन सक्नु हामी सबैको लागि गौरवको विषय हो,’ उनले आफूले गरेका कामबारे भनेका छन्।

काठमाडौं- ८ बाट यसअघि वर्तमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जितेका थिए। वाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेस नेता नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए। जोशीको निधन भइसकेको छ। एकीकृत समाजवादीले पक्का पाउने सिटमध्ये एक यही भएकाले स्वतन्त्रहरुको आकर्षण बढेको देखिन्छ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarNewsPolitic
Comments (0)
Add Comment