दिगो विकासको लक्ष्य भेट्टाउन ९० बिलियन डलर लगानी चाहिन्छ : प्रधानमन्त्री देउवा

२९ भदाै, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासको लक्ष्य भेट्टाउन नेपालमा ९० बिलियन अमेरिकी लगानी चाहिने बताएका छन् । नेपाल लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त लगानी आवश्यक पर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने– ‘सन् २०४५ सम्म जेरो कार्बन उत्सर्जनको लक्ष्य राखिएको छ । यो दिगो विकासको लक्ष्य समेत हो । यसका लागि नेपालमा ठूलो लगानी चाहिन्छ । त्यो लगभग ९० बिलियन अमेरिकी डलर हो ।’ उक्त लगानी हुन सकेमा सन् २०४५ सम्म भेट्ने लक्ष्य राखिएको जेरो कार्बन उत्सर्जनसहितको दिगो विकास लक्ष्य भेटिने देउवाले बताए ।

‘नेपालमा पूर्वाधारमा लगानी आवश्यक छ । पूर्वाधारमा लगानी विना रोजगारी सृजना हुन सक्दैन,’ देउवाले भने, ‘यसका लागि स्वदेशी र विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्नुपर्छ ।’ निजी क्षेत्रका लगानीकर्ताहरूसँग पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा विकासका कार्यक्रम अघि बढाउन सरकार तयार रहेको देउवाको भनाइ छ । नेपालमा रहेको सिमित स्रोत साधनले उक्त लक्ष्य नभेट्ने भएकाले विदेशी लगानी समेत आवश्यक रहेको उनले बताए ।

‘यस्तै, हामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुँदैछौँ,’ देउवाले भने, ‘यसले हामीलाई दीर्घकालीन विकासतर्फ लम्कनका लागि सहयोग गर्नेछ ।’ नेपालको पूर्वाधार विकासका लागि लगानी बोर्डले महत्वपूर्ण भूमिका खेलिरहेको देउवाको भनाइ छ ।

बोर्डले ३३ वटा आयोजनाका लागि ९ बिलियन अमेरिकी डलर बराबरको विदेशी र स्वदेशी लगानी स्वीकृत गरिसकेको छ । यीमध्ये २० भन्दा धेरै जलविद्युत सम्बन्धी आयोजना छन् । यी आयोजना कार्बनमुक्त अर्थतन्त्र निर्माणका लागि भएको देउवाले बताए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment